चिया किसानद्वारा सूर्योदय नगरपालिका घेराउ
फिक्कल । नगरपालिकासँग आपत्ति जनाउँदै चिया किसानहरुले इलामको सूर्योदय नगरपालिका घेराउ गरेका छन् । उद्योगीहरुले अहिलेको ‘सिजन’मा उत्पादन भएको चियापत्तीमा गुणस्तर खस्किएको र नगरपालिकाले तोकेको दरभाउमा चिया खरीद गर्न नसक्ने भन्दै चिया फिर्ता गरेपछि किसानहरु आन्दोलनमा उत्रिएर नगरपालिका घेराउ गरेका हुन् ।
उनीहरुले सोमबार दिउँसो नाराबाजी सहित नगरपालिका घेराउ गरेका हुन् । किसान र उद्योगीको सहमतिमा चिया खरीदबिक्री गर्दै आएकोमा नगरपालिकाले चियाको मूल्य निर्धारणसम्बन्धी कार्य्विधि, २०७५ लागू गरेर हरियोपत्तीको न्यूनतम मूल्य प्रति किलोग्राम ४० रुपैयाँ कायम गरेको थियो । उद्योगीहरुले अहिलेको सिजनमा उत्पादन भएको चियापत्तीमा गुणस्तर खस्किएकाले नगरपालिकाले तोकेको दरभाउमा चिया खरीद गर्न नसक्ने भन्दै असार १२ गतेदेखि उद्योग बन्द गरेका थिए ।
उद्योगीले चिया खरीद नगरेपछि किसानले मेची राजमार्गमा हरियो चियापत्ती पोखेर आन्दोलनमा उत्रिएका छन् । नगरपालिकामा सञ्चालित विभिन्न निजी चिया कारखानाहरुले हरियोपत्तीको गुणस्तर नपुगेको भन्दै फर्काएपछि विरोधस्वरूप नगरपालिकाको गेटमै किसानले चिया पोखेका छन् । किसानले आइतबार साँझ नगरपालिका अगाडी, नयाँ चोक र फिक्कल बजारमा चिया पोखेर विरोध जनाएका थिए ।
उद्योगीहरुको सङ्गठन सूर्योदय टि प्रोड्युर्सस एसोसिएसनमा आबद्ध ५२ चिया कारखाना एकै पटक बन्द भएपछि शनिबार नगरपालिका, किसान, उद्योगी र वाणिज्य सङ्घका प्रतिनिधिहरुबीच उद्योग सञ्चालन गर्ने सहमति भएको थियो । समस्या समाधानका लागि तत्काल गुणस्तरका आधारमा मात्र नगरले तोकेको मूल्यमा चिया खरीद गर्ने र एक उच्च स्तरीय समिति बनाएर दीर्घकालीन रूपमा चिया क्षेत्रका समस्या समाधान गर्ने सहमति भएको थियो ।
नगरपालिका घेराउसहित किसानहरूले तत्काल निर्णय सच्याउन र सजहरूपमा चिया खरीदबिक्री गर्ने वातावरण बनाउन माग राखेका छन ।
रासस, तस्विर : सामाजिक सञ्जाल