विदेशीको नक्कल गर्दा सरकारको काम अलोकप्रिय : नेता नेपाल
काठमाडौ । सत्ताधारी दल नेकपाका वरिष्ठ नेता एवं माधवकुमार नेपालले सरकारका कामकारबाही अलोकप्रिय भएको बताएका छन । राजधानीमा मंगलबार पूर्व सांसद मञ्च नेपालको १९ औं साधारण सभालाई सम्बोधन गर्दै नेपालले पूर्वाधारबिनाका योजना घोषणा, मनपरी नियुक्ति, अवकासलगायत क्रियाकलापका कारण जनतामा असन्तुष्टि बढ्दै गएको बताए ।
सरकारले न्यूनतम पूर्वाधारबिनानै विदेशी मुलुकको विकासको नक्कल गर्न खोज्दा समस्या सिर्जना भएको उनले बताए । उनले भने,‘व्यवहारमा पुष्टि नहुने सिद्धान्त सही सिद्धान्त होइन,परिवर्तनको आवश्यकता छ ।’ नेपालले नेतृत्वकर्ताले सधै विचारमा रहेको विविधतालाई सकारात्मकरूपमा लिएर आलोचना र टिप्पणीप्रति सकारात्मक हुन सक्नुपर्ने बताए ।
आइफा अवार्डलाई लिएर भएका विभिन्न टिप्पणीहरूको बारेमा उनले आफ्नो मुलुकका लागि हुने लाभ हानिको विश्लेषण गरी निर्णय गर्नुपर्ने धारणा समेत व्यक्त गरे । उनले केही विशेष अवस्था र विषयले नेपालको राष्ट्रियता बेलाबखतमा संवेदनशील भएको हुनाले राष्ट्रको सर्वोपरी हितलाई ध्यानमा राखी निर्णय गर्नुपर्ने बताए ।