२०८१ मंसिर २९, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

काठमाडौं । सरकारका प्रवत्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले आइफा अवार्ड नेपालको हितमा हुने भएकाले त्यसलाई सम्पन्न गरेरै छाडने दृढता व्यक्त गरेका छन । मंगलबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा सांसदहरुले सो अवार्डबारे प्रश्न उठाएपछि उनले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन पनि सरकारले सो अवार्ड आयोजना गर्न स्वीकृति दिएको बताए।
मन्त्री बास्कोटाले आइफा अवार्डका लागि बजेट दिने सोचाईमा सरकार नरहेको र कुनै पनि क्षेत्रमा घाटाको व्यापार गर्ने पक्षमा सरकार नरहेको बताए ।
बैठकमा बोल्दै समितिका सदस्यहरुले नेपाली चलचित्र क्षेत्रका लागि केही पनि योगदान दिन नसकेको सरकारले बलिउडका कलाकारहरुको अवार्डका लागि एक अर्ब बजेट दिने समाचार बाहिर आएको उल्लेख गर्दै आपत्ति जनाएका थिए। समितिका सदस्य रामबहादुर विष्टले राष्ट्रिय कलाकारहरुको हितमा केही पनि काम गर्न नसकेको सरकारले सो अवार्डका लागि अर्बाैको बजेट दिन लागेको भन्दै आपत्ति जनाएका थिए ।