२०८१ मंसिर २९, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

काठमडौं । संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले काठमाडौंमा आयोजना हुने भनिएको बलिउडको इन्टरनेशनल इन्डिया फिल्म अवार्ड (आइफा) कार्यक्रम रोक्न सरकारलाई निर्देशन दिएको छ ।
मंगलबार बसेको समितिबैठकले नेपालमा आयोजना हुने आइफा अवार्ड रोक्न निर्देशन दिएको समिति सभापति पवित्र निरौला खरेलले जानकारी दिइन् । उनले भनिन्,‘ यसलाई हेर्दा नेपालको स्वाधीनता, स्वतन्त्रता र आस्मितामा आँच पुर्याउने भएकाले यो अवार्ड तुरुन्त रोक्न निर्देशन दिएका हौं ।’
यसअघि आजै सरकारका प्रवत्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले आइफा अवार्ड नेपालको हितमा हुने भएकाले त्यसलाई सम्पन्न गरेरै छाडने दृढता व्यक्त गरेका थिए । संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा सांसदहरुले सो अवार्डबारे प्रश्न उठाएपछि उनले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन पनि सरकारले सो अवार्ड आयोजना गर्न स्वीकृति दिएको बताएका थिए ।
गत बिहीबार सरकारको नियमित पत्रकार सम्मेलनमार्फत् सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री बाँस्कोटाले काठमाडौं महानगरपालिका सहआयोजक हुनेगरी उक्त अवार्ड कार्यक्रम गरिने बताएका थिए ।
अवार्ड अगष्ट अन्तिम साता आयोजना हुने भनिएको सो अवार्ड समारोह आयोजना गर्नका लागि सरकारले संस्कृति पर्यटन तथा नागरिक उड्डयनका राज्यमन्त्री धनबहादुर बुढाको संयोजकत्वमा उच्चस्तरीय समिति बनाएको थियो।