२०८१ चैत्र ९, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

काठमाडौं । काठमाडौं भित्रने सहज मार्गका रुपमा हेरिएको नौबिसे नागढुङ्गा सुरुङमार्गको निर्माण चाँडै शुरु हुने भएको छ ।
प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको बिहिबारको बैठकमा भौतिक योजना तथा यातायातमन्त्री रघुवीर महासेठले सुरुङमार्ग निर्माणका लागि सबै तयारी भइसकेको बताए । उनका अनुसार जापानी अन्तर्राष्ष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियत ऋणमा सो योजना बनाउने सहमति भएको छ । जाइकाबाट अन्तिम निर्णय आउनासाथ काम अघि बढ्ने उनले बताए ।

सो आयोजना सकेसम्म चाँडो सम्पन्न गर्ने गरेर जाइकासँग छलफल भइरहेको मन्त्री महासेठको भनाइ छ । ४० महीनामा सम्पन्न गर्ने गरी छलफल भइरहेकामा सरकारले दुई वर्ष्भित्रै सम्पन्न गर्न जाइकालाई आग्रह गरेको उनले जानकारी दिए । सरकारले विभिन्न स्थानका सुरुङमार्ग निर्माणका लागि एकमुष्ठ रु ५९ करोड विनियोजन गरेको उनको भनाइ थियो । सरकारका योजनामा परेका ती आयोजनामा आवश्यकताअनुसार बजेट विनियोजन हुनेछ ।

बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै मन्त्री महासेठले सरकारले आफ्नै निर्माण कम्पनी स्थापनाको तयारी गरिरहेको पनि बताए । सरकारले आफैँ निर्माण कम्पनी खोले पनि निजी कम्पनीलाई प्रोत्साहन गर्ने नीति रहेको बताइएको छ ।
समितिका सदस्यसमेत रहेका पूर्वप्रधानमन्त्री झलनाथ खनालले काठमाडौंबाट धार्केसम्मको सडक निर्माण गर्ने निर्णय आफू प्रधानमन्त्री हुँदा १० वर्ष पहिले भए पनि अझैसम्म काम अघि नबढ्नुको कारण मन्त्रीलाई सोधेका थिए । मन्त्रालयले आफूसँग योजना, नीति र ‘भिजन’ नभए बनाउनुपर्ने तर काममा ढिलाइ गर्न नहुने उनले बताए ।