२०८२ माघ ११, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङका वडाध्यक्ष डण्डु शेर्पाले सरकारले उनलाई दिने सेवा सुविधा सामाजिक काममा खर्च गर्ने बताएका छन । जनप्रतिनिधिका हिसाबले आफूले पाउने दैनिक भ्रमणभत्ता र मासिकरूपमा पाउँदै आएको पारिश्रमिकबापतको रकम सामाजिक कार्यमा खर्च गर्ने उनले बताए ।
भर्खरै सम्पन्न गाउँसभामार्फत आफूले पाउने सेवासुविधा आफँैले उपभोग नगरी सामाजिक काममा खर्च गर्ने घोषणा गरेको भन्दै उहाँले अब बाँकी कार्यकालको सेवा सुविधा नलिने बताएका हुन ।

दैनिक भ्रमणभत्ता लिँदै नलिई गाउँको विकासमा खर्च गर्ने र पारिश्रमिकबापत पाएको रकमले आफ्नो गाउँपालिकाभित्रका ७० वर्षमाथिका वृद्धवृद्धालाई न्यानो कपडा खरीद गरी वितरण गर्ने उनको भनाइ छ ।
“गाउँसभा चल्दै थियो, सबै जनप्रतिनिधिले सेवा सुविधा कम भयो भनेर गुनासो गरिरहेका थिए, तर मलाई चित्त दुखिरहेको थियो कि जनताले केही गरोस् भनेर जिताएर पठाएका हामीले नै सेवा सुविधा पुगेन भन्दै उनीहरुकै टाउकोमा ऋणको भार थपिरहेका छौँ भनेर, त्यहिबेला सेवा सुविधा नलिने भनेर निधो गरेको हूँ”, वडाध्यक्ष शेर्पाले भने ।
यस्तै मासिकरूपमा पाउने पारिश्रमिकबापतको रकमले वृद्धवृद्धालाई न्यानो कपडा वितरण गर्नुका साथै आफ्नो वडाभित्रका विभिन्न शैक्षिक संस्थाका कार्यालय सहयोगीको तलब भत्तामा थप गरी दिने तयारी गरेको शेर्पाले बताए । आफू जनप्रतिनिधि भएर आएपछि दैनिक भ्रमणभत्ताबापत करीब रु १५ हजार र पारिश्रमिकबापत रु १९ हजार पाउँदै आएको शेर्पाको भनाइ छ ।