२०८१ चैत्र १, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

रौतहट । बिमा वापत पाउने रकमको लोभमा रौतहटका एक बावुले आफ्नी चार वर्षीया छोरीको हत्या गरेका छन । २५ लाख बिमा रकमको लोभमा रौतहटको मौलापुर नगरपालिका ६ पथराबुधरामका ३९ वर्षीय रामकिशोर यादवले चार वर्षीया छोरी लक्ष्मी राय यादवको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
असार १६ गते राति लक्ष्मीको घाँटी थिचेर हत्या गरेको र गाउँ नजिकैको पोखरीमा फ्याकेको अवस्थामा १७ गते शव फेला परेको थियो । पक्राउ परेका यादवले गरुडाको प्रभु लाइफ इन्सुरेन्स कम्पनीमा १९ जेठमा छोरीको नाममा २५ लाखको जीवन बिमा गराएका थिए।
शुक्रबार जिल्ला प्रहरी कार्यालय रौतहटले पत्रकार सम्मेलन गरी पक्राउ परेका रामकिशोरलाई सार्वजनिक गरेको छ।
हत्या गरी बीमाको रकम निकाल्ने योजनाअनुरुप नै यादवले छोरीको बिमा गराएको र बिमाको २९ औं दिनमा छोरीको हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको हो। राति आमासँगै घरमा सुतिरहेकी छोरीलाई बोकेर पोखरीको डिलमा लगेर नाक मुख थुनी हत्या गरी पोखरीमा फालेको आरोपी यादवले स्वीकारेका छन ।
बिमा गरेको एक महिना भित्रमा बिमित व्यक्तिको मृत्यु भएमा दोब्बर रकम भुक्तानी पाउने कुरा सुनेकाले उनले बिमा गराएको एक महिना नपुग्दै छोरीको हत्या गरेको हुनसक्ने डीएसपी नविन कार्कीले बताए।