२०८१ माघ १२, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

सप्तरी । सप्तकोशी नदीमा हामफालेका आमा र छोराको प्रहरीले उद्धार गरेको छ । सिरहाको गोलबजार नगरपालिका–८ गोविन्दपुरकी ३५ वर्षीया रोशना खातुन र उनका पाँच वर्षीय छोरा तहसिलको जीवितै उद्धार गरिएको हो ।
चार छोराछोरीसहित खातुनले गए राति हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित सप्तकोशीमा हामफालेकी थिइन् । खातुनका १२ र सात वर्षीय छोरा तथा दुई वर्षीया छोरी अझै बेपत्ता छन् ।
प्रहरी र स्थानीयवासीले तीनैजनाको खोजी गरिरहेको छ । बगेर तीन किलोमिटर टाढा पुगेकी खातुनलाई शनिबार उद्धार गरिएको हो । उनको भारदहस्थित अस्पतालमा उपचार भइरहेको छ । पानीको बहाव अत्यधिक भएकाले खोजी गर्न कठिनाइ भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यसैबीच, खडक नगरपालिका–५ स्थित पूर्वपश्चिम राजमार्गमा शनिबार बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ग१ख ३७८८ नं को बसले सोही दिशातर्फ जाँदै गरेको स११प ९८६ नं को मोटरसाइकललाई ठक्कर दिँदा सिरहाको धनगढी नगरपालिका–१ का ३० वर्षीय मोटरसाइकल चालक वीरेन्द्र चौधरीको मृत्यु भएको हो । घाइते चौधरीको उपचारका लागि रामप्रसाद उमाप्रसाद स्मारक अस्पताल लहान लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरीक्षक विष्णुप्रदीप बस्यालले जानकारी दिए ।