सामाजिक सद्भाव र सुरक्षामा खलल पुर्याउनेलाई कारवाही गर्नुपर्छ : गृहमन्त्री
चितवन । गृहमन्त्री रामबहादुर थापाले राज्य पुनःसंरचनाको अवस्थामा सामाजिक सद्भाव र सुरक्षामा खलल पु¥याउनसक्ने सम्भावना रहेकाले प्रहरी संयन्त्रले सूक्ष्म विश्लेषण गरी योजनाबद्ध रूपमा कारवाही गर्नुपर्ने बताएका छन ।
जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरका प्रहरी सहायक निरीक्षक आधारभूत तालीम १७५औँ समूहको आइतबार चितवनमा आयोजित दीक्षान्त समारोहमा उनले यस अवस्थामा विभिन्न आपराधिक, विखण्डनकारी तथा वर्तमान राज्य प्रणालीप्रति असन्तुष्ट व्यक्ति तथा समूहमाथि सूक्ष्म विश्लेषण गरी कारवाही गर्न प्रहरी संयन्त्रले कुनै कसर बाँकी राख्ने छैन भन्नेमा आफू विश्वस्त रहेको बताए ।
देशको अवको गन्तव्य ‘समृद्ध नेपाल, सुखी नेपाली’ भएको भन्दै उनले व्यावसायिक जीवनमा आइपर्ने चुनौतीलाई आफ्नो इमान्दारी, निष्पक्षता र व्यावसायिक कौशल र युक्ति लगाएर परास्त गर्न निर्देशन दिए ।
महिला, दलित एवं समाजका सीमान्तकृत समुदायप्रति हुने गरेका गैरमानवीय व्यवहारको घटना सुन्दा आफूलाई पीडाबोध हुने गरेको भन्दै उनले यस्ता कार्यलाई समाजबाट निरुत्साहित गर्न र पीडकलाई दण्डित गर्न दीक्षित भई जाने प्रहरीको भूमिका महत्वपूर्ण रहने बताए ।
कार्यक्रममा शिक्षालयका निर्देशक प्रहरी नायब महानिरीक्षक हरिभक्त प्रजापतिले २१ महिलासहित ३०५ जना दीक्षित भई कार्यक्षेत्रमा जान लागेको जानकारी दिए । हालसम्म शिक्षालयबाट एक हजार ८२९ प्रहरी सहायक निरीक्षक दीक्षित भइसकेका छन् । सो अवसरमा विभिन्न विधामा उत्कृष्ट प्रशिक्षार्थी एवं प्रशिक्षकलाई सम्मान एवं पुरस्कृत गरिएको थियो ।