२०८१ माघ २९, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

काठमाडौं । बालबालिकाले प्रयोग गर्ने डाइपरमा सुन राखेर ल्याउँदै गर्दा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट आइतबार एक जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त घटनामा सुन लिन आउने थप दुुई जनासमेत पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

कतारको दोहाबाट हिमालयन एयरलाइन्समार्फत नेपाल आउँदै गरेका मोरङ्गका लिलाबहादुर बस्नेतलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । सामान लिन आउने रूपेश गिरी र टेकबहादुर थापालाई समेत पक्राउ गरिएको उनले बताए ।

उनका अनुसार उनले कसैले पार्सल भनेर पठाएको पोको आफूले ल्याइदिएको बयान दिएको र घटनाको विषयमा अनुसन्धान भइरहेको छ । प्रहरीले उनीसँग ४०० ग्राम सुनसमेत बरामद गरेको छ । बस्नेत तीन वर्ष कतारमा वैदेशिक रोजगारीमा बसेर घर फर्कदै गरेका थिए । सुुन रिङ बनाएर डाइपरमा हालेको अवस्थामा भेटिएको थियो ।