ढलान गर्न ठिक्क पारेको पुल माइखोलाले बगायो
इलाम । यहाँको सन्दकपुर गाउँपालिका ३ र ५ जोड्ने निर्माणाधीन माइखोलाको पुल बाढीले ढालेको छ । ढलान गर्न ठिक्क पारेको पुल आइतबार रातिको वर्षासँगै आएका बाढीले ढालेको हो ।
भौतिक पूर्वाधारण मन्त्रालयको बजेटमा यो पुलको ठेक्का स्थानीय निकायको चुनावकै बेला लागेको थिया । शंकर त्रिशक्ति कन्स्ट्रक्सनले पुल निर्माणको ठेक्का लिए पनि लामो समयसम्म बजेटको समस्या देखाउँदै ठेकेदार कम्पनीले पुल निर्माणको काम अघि बढाएको थिएन । गत वैशाखबाट पुल निर्माण थालिएको थियो।
बाढीले पुलको होमपाइपहरु, रड, फर्माहरु बगाएको छ भने पिलर ढालेको छ। ठेकेदार कम्पनीका अनुसार पुल पूर्णरुपले क्षति भएको छ । यो पुल सम्झौताअनुसार गत वर्षको मंसिरमै सक्नुपर्ने थियो । तर, जिल्ला पूर्वाधार कार्यालयले समयमा बजेट निकासा गर्न नसक्दा काम रोकिएको दाबी ठेकेदार कम्पनीको छ ।
ठेकेदार सुवास चिपालुका अनुसार निर्माणाधीन पुलले एक महिनाअघि पनि माइखोलाको बहाव थेग्न नसकेर भत्केको थियो। उनका अनुसार ढलान मात्र गर्न बाँकी रहँदा बाढीले पुल बगाएको छ ।
साबिक सुलुबुङ र जमुना गाविस जोड्ने माइखोलामा पक्की पुल नहुँदा बर्खायाममा स्थानीयलाई सास्ती हुने गरेको छ ।