२०८१ माघ १२, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

काठमाडौं । नेपाल भ्रमणमा आएका विदेशी पर्यटकले आफूहरु माथि चोरी, ठगी, लुटपाट, पाकेटमार, दुव्र्यवहारलगायतका घटना भएको भन्दै उजुरी दिन थालेका छन् । नेपाल घुम्न आउने विदेशी पर्यटकको सुरक्षा र पर्यटकलाई पर्ने समस्या समाधान गर्न विसं २०३५ माघ १२ गते स्थापना भएको पर्यटक प्रहरीमा विदेशी पर्यटकले उजुरी दिएका हुन् ।

पर्यटक प्रहरीमा चालू आर्थिक वर्षमा ६०० उजुरी दर्ता भएका हुन् । साउनमा ५०, भदौमा ३५, असोजमा ६५, कात्तिकमा ८०, मङ्सिरमा ५४, पुसमा ५३, माघमा ३७, फागुनमा ३२, चैतमा ५८, वैशाखमा ८२ र जेठमा ५४ उजुरी परेका छन् ।

पर्यटक प्रहरीले पर्यटकका लागि आवश्यक सूचना प्रवाह गर्ने, पर्यटकबाट आएका उजुरी निवेदन छानबिन र कारवाही गर्ने, इजाजत नभई पथप्रर्दशक कार्य गर्नेमाथि नियन्त्रण तथा कारवाही गर्ने, फौजदारी अपराध सम्बन्धमा सम्बन्धित दूतावासमा सम्पर्क राखी स्थानीय प्रहरीमार्फत कारवाही अगाडि बढाउने, होटल, ट्राभल, ट्रेकिङ, ¥याफ्टिङ एजेन्सीमा निरीक्षण गर्नेलगायतका काम गर्दै आएको छ ।

पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपका प्रमुख, प्रहरी निरीक्षक अमृतबहादुर बस्नेत पर्यटक प्रहरीमा पर्ने उजुरीमध्ये सबैभन्दा धेरै सामान हराएको विषयमा पर्ने गरेको बताउँछन । “सामान हराएको मात्र ४५४ उजुरी पर्यटक प्रहरीमा परेको छ”, उनले भने । पर्यटक प्रहरीमा सामान हराएको बाहेक चोरी ९८, ठगी २४, लुटपाट तीन, पाकेटमार छ, दुव्र्यवहार चार, दुर्घटना एक, क्षति चार र अन्य छ उजुरी दर्ता भएका छन् ।

पर्यटक प्रहरीले हाल काठमाडौँ उपत्यकाभित्र १० र उपत्यका बाहिर १६ स्थानबाट पर्यटकलाई सेवा प्रदान गर्दै आइरहेको छ । प्रहरी प्रधान कार्यालयमा २२७ को दरबन्दी कायम गरिएको छ । चालू आवमा मात्र काठमाडौँको बौद्ध, चितवनको पटिहानी र तनहुँको बन्दीपुरमा कार्यालयले सेवा विस्तार गरेको छ ।