खोटाङमा पहिरोले घर बगाउँदा तीन बेपत्ता, भोजपुरमा २ को मृत्यु
खोटाङ । यहाँको खोटेहाङ गाउँपालिका–२ बाप्लुखामा पहिरोले एउटा घर बगाउँदा एक जना घाइते हुनाका साथै तीन बेपत्ता भएका छन् । चार दिनदेखि लगातार परेको वर्षाका कारण शुक्रबार बिहान झरेको पहिरोले घर बगाउँदा ३१ वर्षीय विष्णु राई घाइते भएका छन भने उनकी श्रीमतीसहित एक छोरा र एक छोरी बेपत्ता भएका हुन् ।
आज बिहान करीब ५ बजेतिर झरेको पहिरोले घरमा सुतिरहेका चारै जनालाई बगाएको विष्णुका दाजु श्यामले बताए । “पहिरोले घर बगाउनासाथ स्थानीयवासीले भाइ विष्णुलाई घाइते अवस्थामा उद्धार गरेका रहेछन”, उनले भने, “अहिले बेपत्ताको उद्धारका लागि खोटाङ बजार इलाका प्रहरी कार्यालयबाट प्रहरीसहितको टोली घटनास्थलमा परिचालन भएका छन् ।”
घटनास्थल जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बाप्लुखाको गोपिनीस्थित एकान्त ठाउँमा पर्दछ । घटनास्थल वरपर टेलिफोन तथा मोबाइल सेवासमेत उपलब्ध नहुँदा बेपत्ताबारे थप जानकारी पाउन नसकिएको प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताए ।
घरदेखि करीब ४०० मिटरमाथिबाट पहिरो झरेको ठाउँमा अहिले पनि भारी वर्षा भइरहेकाले उद्धारमा समस्या हुनाका साथै लगातारको वर्षाले जिल्लाका अन्य ठाउँमा पनि क्षति पुगेको स्थानीयवासीले बताएका छन् ।
यसैबीच, अविरल वर्षाको कारण भोजपुरमा दुई जनाको ज्यान गएको छ । वर्षाले घर भत्किँदा र चर्पी बगाउँदा दुई जनाको ज्यान गएको हो ।
पहिरोले चर्पी बगाउँदा चर्पीसँगै टेम्केमैयुम गाउँपालिका–९ लेखर्कका जनक विकको ज्यान गएको हो भने रामप्रसाद राई गाउँपालिका–७ बासिखोराका जगतबहादुर राईको घरको चुलि ग्राह्रो भत्किएर ज्यान गएको छ ।
घरको पिँढीमा सुतिरहेका अवस्थामा ६६ वर्षिय जगतबहादुर राईको फुसको छानोले बनेको एक तले घरको चुली गाह्रो भत्किएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरिक्षक पाण्डव राजवंशीले जानकारी दिए ।
घरका अन्य सदस्य घर बाहिर रहेकाले उनीहरु सुरक्षित रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिएको छ ।