२०८१ मंसिर २९, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

कविता : राजेश अधिकारी

म मात्रै होइन
महरुको समूह हामी जनता
ढाडमा आँखा र गिदिमा गोबर ठोसिएका अनौठा परजीवी
सत्य देखेर पनि पत्याउदैनौं
असत्य बुझेर पनि त्याग्दैनौं
देखी मन्द बिष पिउछौं
बुझी बुझी बिषालु खाद्य हसुर्छौं
बलवानले निरीह भोकामाथी स्वार्थवस लादिएका बिषैला फलफूल
वा निरीहले स्वअस्तित्व जोगाउन स्वीकारिएका जलपधारी बिषैला तरकारी
वा सरकार चलाउने ठेकेदारहरुको कमिशनमोह
हामी बहिस्कार गर्न सक्दैनौँ
या बिषरहित सागसब्जी आफैँ उब्जाएर स्वजीवी हुने कोशिश गर्र्छौँ
किनकी हामी आँखा भएका अन्धा हौं
गिदी भएका मुर्ख हौं
बल भएका हरुवा हौं
हामी लाछी हौं , परजीवी हौं ।

हामी स्वादेजिब्रोधारी लोभी जनार्दन
सुईघोपित अखाद्य स्वादेझोल हालेको खरबुजामा लठ्ठीने मनुवा
बिषलेपित नयनाकर्षक हरियो परवलमा जिब्रो फड्कार्ने गृहिणी
चीनीको चास्नी हालेको मह र ईटको धुलो हालेको बेसारलाई सक्कली देख्ने दिवाअन्ध
पानीपुरीमा फोहोरी नङ्ग डुबेको झोलमा स्वाद भेट्ने क्याम्पसे ठिटी
हामी हेप्याइँ स्वीकारिरहन्छौँ ? परदमनलाई नकार्न सक्दैनौँ ?
हामीले स्वजीवी हुने कोसिस नगर्ने ? परजीवतामा रमाइरहने ?
सगरमाथाको देश र बुद्धको जन्मभूमिका हामी बुद्धू नागरिक
अदम्य शाहसी वीर गोर्खालीका हामी अल्छी सन्तती
अपराधीन मुलुकका परजीवी बासिन्दा
कृषिप्रधान देशका पराधीन कृषक
आऔं , जुटौं स्वनिर्भरताको मैदानमा परेड खेलौं
खेतमा, बारीमा, कौशीमा, गमलामा आफैँ तरकारी रोपोँ
पहाडमा, तराईमा , हिमालमा आफैँ फलफूल रोपौं
यूरियालाइ लत्याएर गोबरमल, कम्पोस्टमलले उब्जनि बढाओँ
गहुँत र निमरसले बनस्पतीरिपूको दाहसंस्कार गरौँ
आयात घटाऔं, निर्यात बढाऔं
खर्च घटाऔं, देशलाई समृद्द बनाऔं
बिषरहित गैररासायनिक उपज सेवन गरौँ
स्वस्थ बनौं , दीर्घायू रहौं, खुशी रहौं, सुखी रहौं
बिषालु आयातित खाद्य बहिस्कार गरौँ
परनिर्भरता त्यागेर स्वनिर्भर बनौं।