धनगढीमा विस्फोट : बम बोक्ने राम सिंहको मृत्यु
धनगढी । धनगढीको शहिद गेट नजिक रहेको निलम होटलमा हिजो भएको विष्फोटका घाइते मध्ये एकजनाको मृत्यु भएको छ । विष्फोटमा परि गम्भिर घाइते भएका राम बहादुर सिंहको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बझाङका स्थायी बासिन्दा रहेका उनको शव पोष्टमार्टमका लागि सेती अञ्चल अस्पतालमा राखिएको छ । होटलमा चिया पिउने क्रममा सिंहले झोलामा बोकेको टिफिन कन्टेनर च्यापिंदा विस्फोट भएको थियो । सिंह चन्द समूहका सैन्य कार्यकर्ता रहेको प्रहरीको दाबी छ ।
सुदूरपश्चिम प्रहरी प्रमुख डीआईजी तारिणीप्रसाद लम्सालले घटनामा चन्द समूहका कार्यकर्ताको संलग्नता देखिएको बताए । जिल्ला प्रहरी कार्यालयका डिएसपी दक्षकुमार बस्नेतका अनुसार घाइतेहरु होटल सञ्चालक केशवराज पाण्डे, जितेन्द्र यादव, मोविन खान र लक्ष्मण सेरेलाको मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ ।