२०८१ माघ १२, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

काठमाडौं । काठमाडौँको नागढुङ्गाबाट दुई किलो सुनसहित एक जना पक्राउ परेका छन् । भैरहवाबाट काठमाडौँ आउँदै गरेको लु२ख ६५२ नंको यात्रुवाहक बस जाँच गर्ने क्रममा रसुवा गोसाइँकुण्ड गाउँपालिका–५ स्याफ्रुबेँसी घर भएका भीमबहादुर तामाङ पक्राउ परेका हुन् ।

कपडाले कम्मरमा बाँधेर ल्याएको अवस्थामा दुई किलो सुन बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होवीन्द्र बोगटीले जानकारी दिए । विशेष सूचनाका आधारमा परिसर र प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले गए राति चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गामा गाडी जाँच गर्ने क्रममा उक्त बसमा सवार तामाङ सुनसहित पक्राउ परेका हुन् । तामाङलाई आवश्यक कारवाहीका लागि आज राजश्व अनुसन्धान विभाग ललितपुर पठाइएको छ ।

गाँजा बरामद

काठमाडौँ महानगरपालिका–९ गौशाला बसपार्क्स्थित जनकपुर गेस्ट हाउसबाट प्रहरीले आइतबार अवैध लागुऔषध गाँजा बरामद गरेको छ । महानगरीय प्रहरी वृत्त कमलपोखरीबाट खटिएको प्रहरी टोली देखेपछि भागेका व्यक्तिले छाडेको तीन किलो गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।

अन्दाजी ३५ वर्षीय पुरुषलाई उक्त लागुऔषधसहित पक्राउ गर्ने क्रममा गाँजा छोडी फरार भएको र उनको खोजी गर्नाका साथै घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होवीन्द्र बोगटीले जानकारी दिए ।

यसैबीच काठमाडौँको तारकेश्वर नगरपालिका–१ स्थित पोखरीमा पौडी खेल्ने क्रममा शनिबार साँझ डुबेका सोही ठाउँ बस्ने उदयपुरका विष्णु सुनुवारको छोरा १२ वर्षीय सुरज सुनुवारको शव फेला परेको प्रहरीले जनाएको छ ।