२०८१ चैत्र ५, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकताको प्रक्रिया अब करीब करीब निष्कर्षमा पुगिसकेको बताएका छन । पुष्पलाल स्मृति प्रतिष्ठानले मंगलबार काठमाडौंमा आयोजना गरेको ‘४१ आँै पुष्पलाल स्मृति दिवस’मा आयोजित कार्यक्रममा उनले एकता प्रक्रिया साउनभित्र सकिने दाबी गरे । “एक दुई वटा औपचारिकता दिन मात्र बाँकी रहेको छ । केही दिनभित्र हामी सबै पार्टी एकता टुङ्ग्याउँछौँ”, उनले भने, “हाम्रो लक्ष्य यही साउन महीनाभित्र पार्टी एकताका बाँकी रहेका काम पनि टुङ्ग्याउने छौँ, स्थायी कमिटी तथा केन्द्रीय कमिटीको बैठक पनि बस्ने छौँ ।”
अध्यक्ष दाहालले पुष्पलालले देखेको सपना आफूहरुले पार्टी एकता गर्दै जनवादी क्रान्ति मौलिक ढङ्गले पूरा गरेको धारणा राखे । उनले पुष्पलाल नै विभाजित पार्टीलाई एकताबद्ध गर्नुपर्दछ भनेर विसं २०२५ मा गोरखपुर सम्मेलनमार्फत एउटा झण्डा उठाएको समेत बताए ।

उनले आफूभित्र देखापरेका कमजोरीलाई सच्चाएर सङ्कल्प गर्नु नै पुष्पलाललाई सम्झनुको अर्को बाटो रहेको बताउँदै भने, “ अबको बाटो हामीभित्र देखिएको कमीकमजोरी सच्याउने पनि हो । आफैँलाई धोइपखाली सफा गर्ने कुरा पनि हो । त्यस अर्थमा यो दिवसको औचित्य हुन्छ ।”
कार्यक्रममा नेकपाका वरिष्ठ नेता तथा प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपालले नेकपालाई लोकप्रिय बनाएर स्थापित गर्न सकेमात्र पुष्पलालको सपना साकार हुने बताए ।

अर्का वरिष्ठ नेता झलनाथ खनालले पुष्पलालले देखाएको बाटामा हिँडेमात्र मुलुक समृद्धि हुने बताउँदै समाजवादको मार्गरेखा कोरिएकाले अबको कम्युनिष्ट सरकारले मुलुकमा समाजवाद ल्याउनुपर्ने बताए ।

सो अवसरमा कीर्तिपुरस्थित पुष्पलाल स्मृति उद्यान चम्पादेवीमा रहेको पुष्पलालको शालिकमा अध्यक्ष दाहाल, वरिष्ठ नेता नेपाल र खनाल, नेकपा सचिवालय सदस्य वामदेव गौतम, महासचिव विष्णुप्रसाद पौडेललगायत नेताले फूलगुच्छासहित माल्यार्पण गरेका थिए ।