२०८१ बैशाख ५, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मुलुकमा शान्तिसुरक्षा कायम राख्न गृह प्रशासन सफल रहेको बताएका छन ।

आर्थिक वर्ष २०७५/७६ को वार्षिक कार्यसम्पादन प्रगति र आगामी कार्यदिशाबारे मंलगबार आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनले सरकारले परिकल्पना गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ निर्माणका लागि शान्तिसुरक्षा मजबुत बनाउनुपर्ने बताए ।

“देशमा राजनीतिक स्थायित्व र शान्तिसुरक्षालाई थप सुदृढ बनाउन गृह मन्त्रालय लागिरहेको छ”, उनले भने ।

गृहमन्त्री थापाले लामो समयपछिको राजनीतिक उपलब्धिको रक्षा गर्दै सङ्घीयतालाई थप सुदृढ बनाउन नेत्रविक्रम चन्द समूहबाट हुनसक्ने हिंसा नियन्त्रणमा सरकार लागेको बताए । त्यस्तो हिंसात्मक कृयाकलाप नियन्त्रण गर्न हालसम्म ५०० भन्दा बढी सो समूहका नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिइएको गरिएको उनको भनाइ थियो ।

मन्त्री थापाले वार्ताकै माध्यमबाट समस्या समाधान हुने भएकाले सरकारले उक्त समूहलाई वार्तामा आउन पटकपटक आग्रह गरेको उल्लेख गरे । “विप्लव समूहबाट वार्ताका लागि कुनै किसिमको प्रस्ताव सरकारलाई आएको छैन”, गृहमन्त्री थापाले भने ।

देशको राष्ट्रिय एकतालाई कायम राख्न सिके राउतको समूहलाई सरकारले मूलधारको राजनीतिमा ल्याउन सफल भएको उनको भनाइ थियो ।

गृहमन्त्री थापाले सीमा क्षेत्रमा हुने सुनलगायत अन्य सामानको तस्करी, मानव बेचबिखनलगायतका विकराल समस्या समाधानमा सरकार सफल रहेको दाबी गरे । निर्मला हत्या प्रकरणलाई राजनीतिकरण गर्न खोजिएको बताउँदै उहाँले गृह प्रशासन, नागरिक समाज र पत्रकार मिलेर नै निर्मलाका हत्यारालाई खोज्नुपर्ने बताए ।
विकासको नाममा ठेक्कापट्टा पारेर समयमा काम नसकी आर्थिक अपराध गर्ने ठेकेदारलाई कारवाही गरिने उनको भनाइ थियो ।
गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले अनुसन्धानको प्रारम्भमा त्रुटि भएका कारण निर्मलाको हत्यारालाई पक्राउ गर्न नसकिएको स्वीकार गर्दै भने, “निर्मला हत्याकाण्डबारे छानबिन भइरहेको छ ।”