‘हनी ट्रयापिङ’ बाट कसरी जोगिए विर्तामोडका शिशा व्यवसायी ?
झापा । मीठो बोल्दै यौन सम्पर्कसम्म गर्न दिने भनेर एक व्यवसायीलाई फँसाएर उनीबाट लाखौं रुपैयाँ असुल गर्न खोज्ने एक युवतीसहित उक्त योजना बनाउने अन्य तीन जनालाई प्रहरीले पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ । युवतीको माध्यमबाट बिर्तामोड झापाका एक व्यवसायीलाई बन्धक बनाउँदै उनिहरुले ४० लाख रुपैयाँ असुल गर्न खोजेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
यस्तो छ घटना
असार अन्तिम साता बिर्तामोडमा नाम चलेका एकजना शिशा व्यवसायीलाई नचिनेको नम्बरबाट फोन आयो । ती युवतीले मीठो बोलेपछि उनी युवतीबाट प्रभावित भए । उनीहरुको इमो, भाइबरमा माया–प्रेम हुँदै यौन सम्बन्धसम्मका कुरा भए ।
साउन १ गते युवतीले बिर्तामोडको भद्रपुर रोड आइसकेको भन्दै व्यवसायीलाई फोन गरेर बोलाइन् । सुन्दर र जवान युवती देखेर ती व्यवसायी मख्ख परे । व्यवसायीले युवतीलाई होटल जाने प्रस्ताव गरे। असुरक्षा हुने भन्दै युवतीले व्यवसायीको होटल जाने भन्ने कुरा मानिनन् ।
भद्रपुर रोडमै साथीको कोठा भएकोले त्यहीँ जाने प्रस्ताव उनले राखिन् । व्यवसायी उनको प्रस्तावमा राजी भए । उनीहरू कोठामा पुग्दा त्यहाँ कोही थिएनन् । बेलुका ८ बजे उनीहरू ढोकामा चुक्कुल लगाएर बसेका थिए । यत्तिकैमा कसैले ढोका ढक्ढक्यायो ।
ढोका खोल्नासाथ हातमा छुरा बोकेका दुईजना युवाले व्यवसायीलाई कुटपिट गर्न थाले । छुरा र प्लास्टिकको पेस्तोल देखाउँदै उनलाई कोठाभित्र बन्धक बनाइयो । नाटकीय ढंगबाट किशोरीलाई त्यहाँ रहेका मध्ये मिराज खान भन्ने युवाले बाहिर लगेर छाड्छन् । त्यतिबेलासम्म सञ्जु क्षेत्री भनिने सुजन शंकर र प्रकाश दासले उनको नाङ्गो फोटो र भिडियो तयार गरिसकेका हुन्छन् ।
कसरी पुग्यो प्रहरीसम्म ?
साउन ५ गतेसम्ममा ४० लाख रुपैंयाँ दिने शर्तमा व्यवसायीलाई त्यहाँबाट मुक्त गरिन्छ । यति गर्दा रातको १० बजेको हुन्छ । रकम जम्मा हुँदै गरे नगरेको बारेमा लगातार उनीहरूले ताकेता गरिरहेका हुन्छन् । पैसा नदिए ज्यान मार्ने धम्की समेत उनीहरूले दिन्छन् ।
आफ्नै बेवकुफीबाट फसेका ती व्यवसायीको त्यति ठूलो रकम दिने अवस्था थिएन । उनले दुईवटा विकल्प देखे एउटा ज्यानको माया मार्ने अर्को प्रहरीलाई खबर गर्ने । उनले दोस्रो विकल्पलाई रोजे ।
व्यवसायीले इलाका प्रहरी कार्यालयमा घटनाको विस्तृत विवरण बताउँछन् । त्यसपछि प्रहरीले पीडितलाई जाहेरी दरखास्त दिन लगाउछ । त्यसपछि भित्रभित्रै घटनामा संलग्नहरूको खोजी सुरु गर्छ ।
पीडितलाई फोन आएका मोबाइलमा सम्पर्क गरेर साउन ४ गते झापाको चारआलीबाट बिर्तामोड नगरपालिका ४ घर भएका मेराज खान, सोही स्थानका प्रकाश दास र भारत पश्चिम बंगालको दार्जि्लिङ थाना खोरिबारी घर भएका सञ्जु क्षेत्री भन्ने सुजन शंकरलाई प्रहरीले पक्राउ गर्छ ।
त्यसलगत्तै ‘हनी ट्रयापिङ’ का लागि प्रयोग भएकी इलामको फाकफोकथुम गाउँपालिका १ घर भई बिर्तामोड नगरपालिका २ चारपाने बस्ने रीतु फियाक लिम्बुलाई प्रहरीले बिर्तामोडबाट पक्राउ गर्छ ।
कार्वाही प्रकृया के हुदैछ ?
पक्राउ परेकामाथि शरीर बन्धक बनाई अवान्छित लाभ लिन खोजिएको आरोपमा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी मोहन थापाले बताए ।
अभियुक्तहरूले संगठित अपराध गर्नका लागि बिर्तामोडस्थित भद्रपुर रोड कुमारी बैंक पश्चिमपट्टीको गल्लीभित्र एउटा घरको चारतला फ्ल्याट लिई अपराधिक क्रियाकलाप गर्दै आइरहेको कुरा अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले बताए ।
राजधानी काठमाडौंमा सुनिँदै आएको यस प्रकारको संगठित अपराध पूर्वमा पहिलो पटक थाहा पाएको झापाका प्रहरी प्रवक्ता श्रेष्ठले बताए । प्रहरीले उनीहरुबाट बा १५ च ७३३९ नम्बरको कार, स्कुफ लेखिएको १०० मिलिमिटरको सिलप्याक बोतल ३ थान, प्लास्टिकको नक्कली पेस्तोल, प्रोप्रानोल लेखिएको १ पत्तामा १५ चक्की र निट्रोसन १० लेखिएको १ पत्तामा ४ चक्की खाली भई ६ चक्की रहेको औषधी बरामद गरेको छ ।
के हो हनी ट्र्या्पिङ ?
युवतीहरू प्रयोग गरी ‘टार्गेट’ (लक्षित) लाई माया जालमा पार्ने र त्यसपछि ब्ल्याकमेल गरी पैसा असुल्ने कामलाई ‘हनी ट्र्या्पिङ’ भनिन्छ ।