गुल्मी पहिरो : पुरिएका नौको शव निकालियो, चार अझै बेपत्ता(अपडेट)
तम्घास । गुल्मीमा पहिरामा पुरिएकामध्ये नौ जनाको शव फेला परेको छ । गए रातिदेखिको अविरल वर्षाका कारण पहिराले पुरिएर गुल्मीकोे सत्यवती गाउँपालिका–३ सिङ्धिमा तीन जनाको र वडा नं ४ मा छ जनाको शव फेला परेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए ।
पहिरामा पुरिएका अन्य चार जना अझै बेपत्ता रहेकासमेत उनले बताए । अविरल वर्षाका कारण गए राति वडा नं ३ को ठूलो लुम्पेकमा ३४ वर्षीया दिलकुमारी तरामु, उहाँका छोरा नौ वर्षीय दर्शन तरामु र ६३ वर्षीय दुर्गा सिंजालीको शव पहिराबाट निकालिएको छ । सो वडामा पहिरामा १६ वर्षीया बबि विक र ४३ वर्षीया माया विक अहिलेसम्म फेला परेका छैनन् ।
यस्तै वडा नं ४ अन्तर्गत लिम्घामा गएको पहिरोमा पुरिएका छ जनाको शव निकालिएको र अन्य दुई जना हराइरहेका प्रजिअ पौडेलले जानकारी दिए । उनका अनुसार सो स्थानमा १० वर्षीय हिंमासु विक, २९ वर्षीया पम्फा विक, ३२ वर्षीया निर्मला विक, १२ वर्र्षीया अञ्जली विक, ६० वर्षीया छल्ली विक र १० वर्षीया सिमानी विकको शव फेला परेको छ । सो स्थानमा आठ वर्षीया तारा विक र एक नाबालक सुमन अहिलेसम्म फेला परेका छैनन् ।
उक्त क्षेत्रमा पहिराले पूरै गाउँ नै जोखिममा रहेकाले वडा नं. ४ का प्रभावित स्थानियवासी करीब एक हजार सर्वसाधारणलाई स्थानीय राम माध्यमिक विद्यालयमा स्थानान्तरण गरिएको छ । यस्तै पहिरामा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली तथा स्थानीयसमेत उद्धारमा खटिएका प्रजिअ पौडेलले जानकारी दिए ।