२०८१ बैशाख १२, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले गुल्मीको सत्यवती गाउँपालिकाको लिम्घा र ठूलो लुम्पेक गाउँमा सोमबार राति पहिरोबाट भएको मानवीय एवं भौतिक क्षतिप्रति दुःख व्यक्त गरेको छ ।

काङ्ग्रेस संसदीय दलले मंगलबार विज्ञप्तिमार्फत उक्त घटनामा परी बेपत्ता भएका व्यक्तिहरुको तत्काल खोजी कार्य गरी उद्धार गर्न र विस्थापित तथा जोखिममा रहेका घरपरिवारलाई पुनःस्थापनाको व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ ।

पार्टीका प्रमुख सचेतक बालकृष्ण खाणद्वारा विज्ञप्तिमा सो घटनाका घाइते भएकाहरुलाई उपचार एवं राहत तथा मृतकका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्नसमेत सरकार समक्ष आग्रह गरिएको छ । काङ्ग्रेसले पहिरोमा परी घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना साथै जीवन गुमाएकाहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।