पहिराका कारण धरान चतरा सडकखण्ड अवरुद्ध
हेटौंडा । मङ्गलबार बेलुकादेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा हेटौँडा हटिया हुँदै फापरबारी, राइगाउँ पुग्ने धरान चतरा सडकखण्ड अवरुद्ध बनेको छ ।
सडक अवरुद्ध हुँदा मकवानपुरको पूवी क्षेत्रमा चल्ने यातायात बन्द भएका छन् । सडकखण्डअन्तर्गत बकैया–५ श्रीपुरमा पहिरो जाँदा छितवन, फापरबारी, राइगाउँ जाने सडकखण्ड पूर्णरुपमा बन्द भएको हो ।
दुईदेखि तीन सय मिटरसम्म पहिरो गएकाले बाटो अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अनिष बुढाथोकीले जानकारी दिए । सडक अवरुद्ध भएसँगै छतिवन, फापरबारी, राइगाउँ जाने सवारीबीच बाटोमै रोकिएका छन् । पानी परिरहेकाले पहिरो खसिरहेको र पानी रोकिएपछि पहिरो हटाउने प्रहरी जनाएको छ ।
हेटौँडा—५ डुबानमा
मङ्गलबार बेलुकाबाट परेको अविरल वर्षाका कारण हेटौँडा उपमहानगरपालिका–५ को बानियाँटोल र शान्तिनगरका नौ घर डुबानमा परेका छन् । गोरदोई खोलामा आएको बाढी गाउँ प्रवेश गरेपछि हेटौँडा–५ का उक्त स्थानका करीब नौ घर डुबानमा परेका मकवानपुर प्रहरीले जनाएको छ ।
डुबानमा परेपछि वडा प्रहरी कार्यालय हेटौँडाबाट प्रहरी निरीक्षक सन्तोष श्रेष्ठको नेतृत्वमा उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ । केही दिनअघि अविरल वर्षाका कारण उक्त स्थानका थुप्रै घर डुबानमा परेका थियो ।