बसन्तको ‘लोभी आँखा’ युट्युबको करोड क्लबमा प्रवेश
काठमाडौं । वसन्त थापाद्वारा सङ्गीत र स्वरवद्ध पछिल्लो लोकदोहोरी ‘लोभी आँखा’ युट्युबको करोड क्लबमा प्रवेश गरेको छ । यसअघि उनकै सङ्गीत÷अभिनय रहेको ‘सालको पातको टपरी’ ले हालसम्म चार करोड ८० लाख बढी ‘भ्युअर्स’ पाएको छ ।
‘सालको पातको टपरी’ गत असोज १ मा र ‘लोभी आँखा’ जेठ ६ गते युट्युबमा सार्वजनिक भएको थियो । ‘सालको पातको टपरी’ युट्युबमा सबैभन्दा बढी हेरिएको पहिलो लोकदोहोरी बन्न सफल भएको छ ।
विसं २०६६ मा सार्वजनिक ‘नजाउ है सानु पँधेरीमा’ गीतले थापालाई एकाएक चर्चामा ल्याएको हो । त्यसयता थापालाई कहिल्यै पछाडि फर्कनु परेको छैन ।
मौलिक सिर्जनामा अब्बल थापाले अहिलेसम्म झण्डै ५०० गीतमा सङ्गीत र सय बढीमा स्वर दिएका छन । पञ्चेबाजा गीतमा पनि थापाको नाम सबैभन्दा अघि आउँछ । विसं २०७० मा सार्वजनिक पञ्चेबाजाको ‘वारि घुम्टे पारि गाजा’ बढी चर्चित छ ।
मुख्य बिधा लोक सङ्गीत रहेपनि थापाले सुगम, गजल, लोकपप शैलीका गीतमा पनि स्वर र सङ्गीत दिएका छन । “अहिले चलचित्र ‘छ माया छपक्कै’ मा पनि काम गरिरहेको छु”, थापाले भने ।