२०८१ बैशाख १२, बुधबार
  • ४ वर्ष अगाडि

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका—५ महेन्द्रनगर बजारमा शुक्रबार मध्यराति शक्तिशाली बम विस्फोट हुँदा प्रहरी निरीक्षकसहित ३ जनाको मृत्यु भएको छ। 

कुसाई टोलस्थित एक औषधि व्यवसायीको घरमा भएको बम विस्फोट हुँदा घरधनी राजेश साह र उनका छोरा आनन्द साहको घटनास्थलमै मृत्यु भएको हो। 

त्यसैगरी घटनामा परी गम्भीर घाइते भएका प्रहरी निरीक्षक अमिर दहालको उपचारको क्रममा धरानमा मृत्यु भएको धनुषाका प्रहरी उपरीक्षक शेखर दाहालले जानकारी दिए।
निजी मेडिकल स्टोर सञ्चालन गर्दै आएका मृतक राजेशको घरमा राति शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरिएको थियो।

प्राप्त सूचना अनुसार नजिकैको महेन्द्रनगरस्थित ईलाका प्रहरी चौकीबाट सुरक्षाकर्मीहरु घटनास्थलमा पुगेका थिए। तर, सुरक्षाकर्मीहरु घरमा पुगेर शंकास्पद वस्तु हेर्न खोजेकै बेला एक्कासी विस्फोट भएको प्रहरीले जनाएको छ । घाइते अन्य तीन प्रहरीको धरानमै  उपचार भइरहेको छ। 

अन्नपूर्ण पोस्ट