२०८३ जेष्ठ १६, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता २ वर्ष अगाडि
बिरेन्द्र तामलिंग/सिक्किम
“सिक्किमलाई स्विट्जरलैंड होइन,सिक्किमलाई सिक्किम जस्तो बनाउनु पर्छ।” यो भनाई हो, सिक्किमका सम्माननीय मुख्यमन्त्री श्रीमान पीएस गोलेज्युको हो ।  यो सही हो, २५ वर्षसम्म सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) सरकारले सिक्किमलाई स्विट्जरलैंड बनाउने सिक्किमेली जनतालाई सपना मात्र देखायो, हावा मिठाई खुवायो तर अन्तमा सिक्किम बर्वाद भएको अवस्थामा सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीको सरकारलाई जिम्मा लगायो ।
२५ वर्षमा थालिएका पूर्वधारहरु अलपत्र अवस्थामा थियो भने कतिपय योजनाहरु बनिएर पनि मर्मतीसम्म नभएर काम नलाग्ने अवस्थामा पुगेको थियो । ठुला योजनाहरुमा सोरेंग समष्टिको दोदक – बुढ़ियाखोपको बृन्दाबन योजनालाई शिलान्यास गरेर छोड़ी दियो, दरामदिनको स्वर्ग जाने सीढ़ी, यांगगांगको भाले ढुङ्गाको रोपवे, गेजिंग संचमान लिम्बु डिग्री कॉलेज, यांगगांगमा सिक्किम बिश्वविद्यालय, नयाँ एसटीएनएम हॉस्पिटल सोचेगांग योजनाहरु उदाहरण हुन् र २५ वर्षसम्म यस माथि थुप्रै कथाहरु भए ।  कतिवटा योजनाहरुको नाममा चुनाउमा भोट मागियो तर  लथालिंग पारेर छोड़ियो, त्यसरी नै राज्य भरीमा थुप्रै विद्युत परियोजनाहरु टेन्डर गरियो अलिक काम शुरू गरेर बन्द  गर्‍यो, कम्पनी आफै भाग्यो या भगायो यो भन्न सकिन्दैन,  कम्पनीले लिएको ऋणमा सरकार गेरेन्टर बस्यो त्यसपछि सरकारले ऋण आफ्नो थाप्लोमा लियो, अझै पनि सरकारले त्यो ऋणको ब्याज सरकारी बजेटबाट भुक्तान भईरहेको छ ।
त्यसै समय पत्र – पत्रिकामा छापामा आएको थियो, ” सिक्किम जलविद्युत परियोजनामा ५० हजार करोड़ घोटाला” ( हिमालय दर्पण, सिलीगुड़ी १९ जून २०१२) । ती सबै लथालिंग अवस्थामा छोड़िएको योजना/ परियोजनाहरुलाई एसकेएम सरकार सत्तामा आएपछि पुनः युद्धस्तरमा थालिएर कति सकिसक्यो कति सकिने अवस्थामा पुगेकोछ र कति युद्धस्तरमा कार्य भईरहेको छ । २५ वर्ष भनेको छोटो समय कदापी होइन, अढाई दशक लामो समय हो, २५ वर्षे रजत जयन्ती मनाई सकेको सत्ता थियो, एसडीएफ सरकार सत्तासीन भएको दिन जन्मेको नानी पनि २५ वर्षे जवान भएको अवस्था हो, त्यस समय जन्मेको नानीले पढ़ाई सुचारू राख्नु हो भने पोस्ट ग्रेजुएट भई सक्ने समय हो अनि आफ्नो पुर्ण जिम्मेवारी बुझिसकेको ब्यशक युवा हो ।
सिक्किमेली जनताले निवर्तमान मुख्यमन्त्री पवन चामलिंगज्युलाई लगातार पाँचौपल्ट मुख्यमन्त्रीको गरिमामय पदमा पुर्‍यायो, अहिलेसम्म देशको कुनै पनि मुख्यमन्त्रीले यो रिकॉर्ड तोड़नु सकेको छैन, यो सिक्किमको निम्ति गर्वको कुरा हो । तर, यत्रो लामो समयसम्म सत्तामा रहेता पनि एसडीएफ पार्टीले आफ्नो जिम्मेवार बुझ्नु सकेन, सिक्किमेहरुको सपना पुरा गर्नु सकेन । २५ वर्षमा सिक्किमलाई स्विट्जरलैंड बनाउँछु भन्ने आफ्नो बचन पुरा गर्नु नसके पनि सिक्किमलाई सिक्किम जस्तो बनाउनु पनि सकेन । एसकेएम पार्टीले सत्ता हातमा लिंदा राज्यको आर्थिक अवस्था जीर्ण थियो, वित्तिय अनियमितता र अनुशासनहीन थियो, भ्रष्टचार जवान भएको थियो, सरकारको अनुशासन ब्यवस्था बर्वाद थियो तर एसकेएम सरकारले बिस्तारै लाइनमा ल्याई सकेकोछ, सम्मननीय मुख्यमन्त्री श्रीमान पीएस गोलेज्यु भन्नु हुन्छ, “सत्ता परिवर्तन भए पनि ब्यवस्था परिवर्तन हुन निकै समय लाग्छ।”
यो सही हो, २५ वर्षसम्म एकै ब्यवस्थामा बसेको नोकरशाहहरु त्यही बाटो हिड़ने गर्छ, मूलबाटोमा  ल्याउनु /आउनु निकै समय लाग्छ । वर्तमान मुख्यमन्त्रीज्युले आफ्नो परिवारलाई ब्यापारको साम्राज्य खड़ा गर्नु लगाउनु भएन बरु सम्पुर्ण परिवारलाई सिक्किमेली जनताको सेवामा सम्पर्ण गराए, यो हो महानता र मानवता । निवर्तमान मुख्यमन्त्री श्री पवन चामलिंगज्युले आफु घरी – घरी बिदेश भ्रमणमा गए । आफु सत्ताबाट हटेपछि पनि बिदेश भ्रमणमा गईरहेका छन् अनि सत्तामा रहन्दा आफ्नो सम्पुर्ण परिवारलाई पुरै यूरोप देशहरुको एक महिना लामो शयर गराए तर वर्तमान मुख्यमन्त्री श्रीमान पीएस गोलेज्यु सत्तामा आएपछि अहिलेसम्म बिदेश भ्रमणमा गएनन् न आफ्नो परिवारलाई बिदेश भ्रमणमा पठाए, सरकारी खर्च बचाए, सरकारी खर्चमा कटौती ल्याए, आफ्नो सम्पुर्ण समय सिक्किमेली जनताको सेवामा समर्पित गरेका छन् ।
निवर्तमान मुख्यमन्त्रीज्युले महंगो पजेरो गाड़ी चढ़थे भने वर्तमान मुख्यमन्त्रीज्यु सामान्य स्कोर्पियो गाड़ी चढ़नु हुन्छ । निवर्तमान मुख्यमन्त्री पवन चामलिंगज्युले जस्तो वर्तमान मुख्यमन्त्रीज्युले आफ्नो परिवारलाई सबै नाफा हुने खाल्का सप्लाईका कामहरु जस्तै खाता किताब, विद्यार्थीहरुको यूनिफार्म, लैपटॉप, जुत्ता, स्कूल बैग, अनेक थरीका फल- फूल  इत्यादिको सप्लाईको कामहरु दिएनन् , घर बनाउनु, होटल किन्नु, कुनै औधोगिक इकाई स्थापित गर्न दिएनन् , कहिले पनि आफ्नो परिवारका सदस्यहरुलाई अथाह सम्पति थुपार्नु लगाएनन् , आफ्नो परिवारलाई ब्यापार वाणिज्यको साम्राज्य खड़ा गर्नु लगाएनन् ।  आफ्नो जात र आफन्तलाई काखी च्यापेनन् , जसलाई परेको छ, जसलाई खाँचो र जरूरत मन्द छ त्यस्तालाई हेरे, काखी च्यापे ।
निवर्तमान मुख्यमन्त्री र वर्तमान मुख्यमन्त्रीबीचमा यति फरक चाही अवश्य पाइन्छ । एसडीएफ पार्टी जातिवादी धरातलबाट उठेर आएको हो भने एसकेएम पार्टी धार्मिक धरातलबाट उठेर आएको हो । एसडीएफ पार्टीले जहिले असत्य, जातिवाद, बाहिरका खेताला र भरौटेको सहारा लिन्छ भने एसकेएम पार्टीले सत्य,धर्म र खाँटी सिक्किमेको सहारा लिने गर्छ, त्यसैले सम्माननीय मुख्यमन्त्री श्रीमान पीएस गोलेज्यु भन्नु हुन्छ,” धर्ममा राजनीति हुनु हुँदैन तर राजनीतिमा धर्म अवस्य हुनु पर्छ।”
भर्खरै छिमेकी मुलुक नेपालको खोटांग निवासी ब्लॉगर/ यूट्यूबर उमा चामलिंग राईले सिक्किममा आएर सम्प्रदायक भड़काउने, जातीय दंगा गराउने खाल्का मंतब्य दिएर  नेपाल – सिक्किमको अटुट सम्बन्ध बिगार्ने कोसिस त गरे – गरे  तर फेरि नेपाल पुगेर पनि बिश्व लिम्बुज्युले सञ्चालन गरेको ‘नेपाल पॉडकास्ट’ मा ७ जनवरी २०२४ को दिन अन्तर्वार्ता दिंदै निवर्तमान मुख्यमन्त्री पवन चामलिंगज्युको २५ वर्षे सत्ता पूर्वको भण्डारी साहबको १५ वर्षे सत्ताकालको कुरा गर्दै उमा चामलिंग राईले भन्नु भयो “अरुले भनेको सुनेको किरातहरुलाई स्कूल पढ़नु नदिने, राई जातिहरु सिधै हिड़नु नदिने बाटो मुनि जानु पर्ने,”  मैले इतिहास पढ़ेकोछु भनेर इत्यादि कुरा गरेका छन् तर किन उनले झुठ बोले ? अन्तर्वार्ताको वीडियो फुटेजको लिंक यहाँ राखिएको छ सुन्नु होला ।
यो अन्तर्वार्तामा रहेका उनका सबै कुराहरु झुठा हुन् , पूर्व मुख्यमन्त्री स्व° नर बहादुर भण्डारीज्युलाई सस्तो झूठ र फरेब लगाउनु मुनासिब कुरा होइन, यस अन्तर्वार्तालाई सिक्किमले बिरोध र भत्सर्ना गर्दछ, उहाँको शासनकालमा शासन ब्यवस्था कस्तो थियो भन्ने कुरा त्यस समयका सिक्किमेली नागरिकहरुलाई मात्र थाहा छ, उहाँ सिक्किमका सर्वमान्य नेता थिए, उहाँ सिक्किमको आधुनिक निर्माता हुन् उनैले शुरू गरेका पूर्वधारहरुमा अहिलेको सिक्किम उभिएको छ ।
उमा चामलिंग राईले पॉडकास्टमा दिएको अन्तर्वार्तामा सिक्किमको इतिहास नबुझि घरी – घरी निवर्तमान मुख्यमन्त्री पवन चामलिंगज्युको नाम मात्र लिनु, बड़ी – बड़ाई गर्नु, अन्य जातिलाई हेय दृष्टिले हेर्नु , किरातमा त धेरै जातहरु छन् तर खाली राई किरातको कुरा गर्नुले यो पुष्टि गर्छ  कि आज भन्दा ३० – ३१ वर्ष पहिले १९९३ – १९९४ तिरको जस्तो जातीय सद्भावना खल्बलाउने पुरानो चाल थियो, यो पूर्व सुनियोजित र विपक्षबाट सञ्चालित थियो भन्ने बुझिन्छ ।
यस अन्तर्वार्ताले केवल जातीय दंगा गराउने र अहिले नेपालको केही भागमा जुन स्थिति सृजना भएको छ त्यस्तै सिक्किममा पनि गराएर  राजनीति फायदा उठाउने ठुलो षड़यन्त्र मात्र हो । यसको पछि ठुलो राजनीतिक चालबाझ रहेको बुझिन्छ । सिक्किमको इतिहास नबुझि, झूठो बोल्दै सिक्किमलाई बदनाम गर्ने जुन कोसिस गरियो, यो उनले आफै बोलेको होइन, कसैले सिकाएर बोल्नु लगाएको हो, सिक्किमलाई बर्वाद गर्ने मनसाय लिएर बोल्नु लगाइएको हो भनेर सिधै बुझ्न सकिन्छ ।
सिक्किमका अवकाश प्राप्त मुख्य सचिव श्री सोनाम वांगदीज्युले  “PAWAN KUMAR CHAMLING, The Greatest Fraud in History भन्ने आफ्नो पुस्तकमा  “PK Chamling as Nepal Citizen” शीर्षकको पेज नम्बर Page -VIII मा लेख्नु हुन्छ,” पवन चामलिंगको जन्म नेपालको दिक्तेल खोटांग राना गाउँ लामाखु गाविसनिर मली डाँडा वॉर्डनं. 7 पक्का हो । चामलिंगको सन्तान अझै पनि त्यहाँ छ ।” यसले सिधै पुष्टि गर्छ, निवर्तमान मुख्यमन्त्री श्री पवन चामलिंगज्यु पनि त्यही गाउँको र ब्लॉगर/ यूट्यूबर उमा चामलिंग राई पनि त्यही गाउँको भएको र जात र थर पनि मिलेकोले आफ्नै सन्तान हुनु सक्छ र चुनाउ नजिक छ केही सहयोग हुन्छ भनेर निम्तो दिएर ल्याएको पक्कै हुन सक्छ ।
सिक्किम र सिक्किमेलाई दोष दिएर, जातीय कुरा गरेर युगौ देखि नेपाल र सिक्किमको सम्बन्धमा चिरा पार्ने कोसिस गर्नु अति दुर्भाग्यपूर्ण हो । सिक्किमको नागरिकहरु कस्ता छन् भन्ने कुरा चर्चित पण्डिताइन राधिका दासीले आफ्नो फेसबुक पेजमा लेख्नु भएकोलाई यो लिंकमा राखिएको छ पढ़नु होला ।
यस्तै प्रकारले नेपाल फार्मेसी संघका केन्द्रीय अध्यक्ष एवं मोरंग टेक्निकल कॉलेज, काठमांडुका उपप्राध्यापक अमृत खनालले सिक्किमको शैषिक भ्रमण पछि सिक्किमले गरेको ब्यवहारबाट नेपालले पनि सिक्नु पर्ने मंतब्य यसरी राख्नु भएको छ । लिंक यहाँ राखिएको छ ।
एसकेएम सरकारको यो ५ वर्षको सत्ताकालमा सिक्किमलाई कुनै आँच पुग्ने काम गरेको छैन र  सिक्किमको सुरक्षालाई कुनै नोक्सान पुग्ने केन्द्रीय कानुनहरु पनि राज्यमा लागु गरेको छैन । राज्यको शान्ति श्रृंखलालाई भंग गरेको छैन, साम्प्रदायिक दंगा र हिंसा गराएको छैन, पक्ष विपक्ष भनेर छुट्टाएको छैन, वर्तमान सरकारले सिक्किमे सोच लिएर काम गरिरहेको छ, सबै धर्महरुलाई समान रूपमा हेरेको छ सहयोग र बिकासको काम गरेको छ, साम्प्रदायिक सद्भावना कायम गरेको छ ।
वर्तमान सरकारले विभिन्न क्षेत्रमा तरक्की गरिरहेको छ, सिक्किम बचाऔ भन्ने नारा दिएर मात्र हुँदैन, अहिलेको समयमा जनतालाई लाटा ठानेर हुँदैन, जनता सजक छन्, कसले के गर्‍यो ? भन्ने सहजै बुझेका छन् । २५ वर्ष एसडीएफ आफैले तहस – नहस पारेको सिक्किमलाई अहिले एसकेएम सरकारले सपार्दैछ, एसडीएफ सरकारले २५ वर्षमा गरेको काम भन्दा एसकेएम सरकारले आफ्नो ५ वर्षको कार्यकालमा राम्रो काम गर्दैछ, सिक्किमलाई बिगार्ने काम गरेको छैन, एसडीएफ सत्ताकालमा झै सिक्किममा बर्मा लुट भएको छैन, महा लुट भएको छैन, सिक्किमलाई के भएको छ र ‘सिक्किम बचाउने ?  २५ वर्ष बिग्रेको सिक्किमलाई एसकेएम सरकार सत्तामा आएपछि सपारेको छ, बिगारेको पट्टकै छैन । “सिक्किम बचाऔं” भन्ने नारा दिएर अहिलेका जनतालाई मुर्ख बनाउनु भनेको आफै मुर्ख बन्नु बाहेक अरु केही होइन ।
(बिरेन्द्र तामलिंग, सत्तारूढ़ दल सिक्किम क्रान्तिकारी मोर्चा पार्टी उपाध्यक्ष (प्रभारी) प्रचार – प्रसार प्रभाग हुन् )
यो लेख र विचार लेखकका नीजि बिचारहुन् ।-सम्पादक