भोटोजात्रा : १५ मिनेटसम्म प्रमाण माग्दा यस पालि पनि प्रमाण आएन
ललितपुर । राष्ट्रपति विद्यादेवी भण्डारी रातो मच्छिन्द्रनाथको जात्राअन्तर्गत भोटोजात्रामा आइतबार सरिक भइन् । राष्ट्रप्रमुखले भोटोजात्राको अवलोकन गर्ने परम्परा छ । सोही अवसरमा उनले पाटनकी कुमारी निहिरा बज्राचार्यको दर्शन पनि गरिन् ।
अपराह्न ५ः२२ बजेदेखि गुठी संस्थान ललितपुरका प्रमुख शैलेन्द्र पौडेलले तीन पटक चारै कुनामा फर्केर १५ मिनेटसम्म सर्वसाधारणसँग प्रमाण माग्दै भोटो देखाएका थिए । सो अवसरमा गुरुज्यूको पल्टनले राष्ट्रपतिलाई सलामी अर्पण गरेको थियो ।

गुठी संस्थानका प्रमुख पौडेलले मच्छिन्द्रनाथको जात्रा सम्पन्न भएपछि वर्षा र सहकाल हुने विश्वास रहिआएको उल्लेख गरे । जात्रा हेर्न काठमाडौँ उपत्यका र उपत्यका आसपासका जिल्लाबाट समेत जात्रालु सहभागी थिए । राष्ट्रप्रमुखको बिदाइपछि भक्तजनले चामल र फूल चढाएर मच्छिन्द्रनाथलाई बिदा गरे ।
भोटो जात्रा सम्पन्न भएपछि आइतबार साँझ नै स्थानीय युवाले रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङ्मती फर्काएका छन् भने मछिन्द्रनाथको रथसँगै रहने मीननाथको रथलाई टंगालतर्फ लगियो । काठमाडौँ उपत्यकाको सबैभन्दा लामो जात्राका रुपमा रहेको रातो मछिन्द्रनाथलाई वर्षा र सहकालका देवता मानिन्छ ।
