२०८१ मंसिर २९, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

काठमाडौं । केन्द्रीय सदस्यको कार्यविभाजन तथा जिल्ला कमिटीको इञ्चार्ज र सहइञ्चार्जको विषयमा नेताहरु बीच विवाद बढेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कोे सचिवालय बैठक स्थगन भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकका लागि गृहकार्य नपुगेकाले स्थगन गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
बैठकका लागि बिहिबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाका शीर्ष नेता पुगे पनि एकछिन बसेर बैठक स्थगन भएको थियो । ‘‘दुवै अध्यक्षद्वयले केन्द्रीय सदस्यको कार्य्विभाजन तथा जिल्ला कमिटीका इञ्चार्ज र सहइञ्चार्ज तोक्नेबारे अझै गृहकार्य पुगेन भन्नुभयो’’, उनले भने, ‘‘ त्यसैले बिहिबार सबै सचिवालयका सदस्य जम्मा भए पनि एकछिन बसेर बैठक स्थगन गरियो ।’’
उनका अनुसार प्रधानमन्त्री ओलीको युरोप भ्रमण सकेर आएपछि मात्र सचिवालय बैठक बस्नेछ । प्रधानमन्त्री शनिबारदेखि युरोपको साताव्यापी भ्रमणमा जाँदैछन ।
पार्टीको बिहिबार बस्ने सचिवालय बैठकले केन्द्रीय सदस्यको कार्य विभाजन तथा जिल्ला कमिटीको इञ्चार्ज र सहइञ्चार्ज टुङ्गो लगाउने तयारी गरेको थियो । केन्द्रीय सदस्यको कार्य विभाजन र जिल्ला इञ्चार्ज तथा सहइञ्चार्ज तोक्ने विषयमा मङ्गलबारदेखि नियमित बैठक बस्दै आएको थियो । कार्यबिभाजन सकाएपछि बाँकी रहेका साङ्गठनिक एकीकरणका अन्य काम र थप कार्य्विभाजनका विषयमा समेत प्रवेश गर्ने पार्टीको तयारी थियो ।
नेकपामा कार्यबिभाजन गर्दा दोहोरो जिम्मेवारी दिने र नदिनेमा विवाद छ । सचिवालय सदस्य माधवकुमार नेपाल नेताहरूलाई दोहोरो जिम्मेवारी दिन नहुने पक्षमा छन् भने प्रधानमन्त्री केपी शर्मा ओली दोहोरो जिम्मेवारी दिँदा फरक नपर्ने पक्षमा छन ।
अर्का अध्यक्ष पुष्पकमल दाहालले ओली र नेपाल दुबै सहमत हुने गरी मध्यमार्गी उपाय सुझाए पनि दुई नेताहरूले आफ्नो अडान नछोडेपछि बैठक निष्कर्षबिहिन बन्दै आएको छ ।