२०८१ चैत्र १, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

लन्डन । प्रधानमन्त्री केपी शर्मा ओली र बेलायती समकक्षी टेरेजा मेसँग भेटवार्ता भएको छ । प्रधानमन्त्री कार्यालय टेन डाउनिङ स्ट्रिटमा भएको करिब आधा घण्टा लामो भेटमा दुई देशबीच सम्बन्ध सुदृढबारे छलफल भएको थियो ।
प्रधानमन्त्री ओलीले नेपालले हासिल गरेका राजनीतिक उपलब्धिको व्याख्या गर्दै राजनीतिक संक्रमणपछि नेपाल आर्थिक विकासमा केन्द्रित रहेको बताएका थिए । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार उनले नेपालको विकास प्रयासमा अझ बृहत्तर सहयोग गर्न बेलायतसँग आग्रह गरेका थिए । विकासका साथै प्राकृतिक विपत्ति जस्तै भूकम्पका बेला बेलायतको सहयोगप्रति आभार व्यक्त गरेका थिए ।

बेलायती समकक्षी मेले परिवर्तनका लागि नेपाललाई बधाई दिँदै बेलायतको सधैँ दृढ समर्थन र ऐक्यबद्धता रहेको विश्वास दिलाएकी थिइन् । दुवै मुलुक राष्ट्रसंघ मानवअधिकार परिषद्को सदस्य भएका नाताले मानवअधिकारका विषयमा समेत छलफल भएको थियो ।