२०८१ मंसिर २२, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

काठमाडौं । नेपाली कांग्रेसकोे प्रमुख भ्रातृ संस्थाका रूपमा रहेको नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को चार महिनादेखि तदर्थ समिति बन्न सकेको छैन । एघारौँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष नैनसिंह महरले २०७५ माघ २८ मा राजीनामा दिएसँगै चार महिनादेखि नेतृत्वविहीन रहेको नेविसङ्घको अहिलेसम्म तदर्थ समिति बन्न नसकेको हो ।
नेविसङ्घको विस २०७३ साउनमा सम्पन्न ११ औँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष महरले १२ औँ महाधिवेशन गर्न नसेकेपछि माघमा राजीनामा दिएका थिए । । मुलुकमा भएका विभिन्न राजनीतिक र शैक्षिक आन्दोलनमा अग्र मोर्चामा उभिएर काम गरेको नेविसङ्घको नेतृत्व नहुँदा पार्टीलाई समेत ठूलो समस्या उत्पन्न भएको स्वंम कांग्रेसका नेताहरु बताउँछन ।
नेविसङ्घका पूर्व केन्द्रीय सदस्य लीलावल्लभ दाहाल ‘काका’ पार्टी नेतृत्वले नै पार्टीको महाधिवेशनसम्म नेविसङ्घको महाधिवेशन गर्न नचाहेको बताउँछन । पार्टीका नेताको गैरजिम्मेवारीपनका कारण तदर्थ समिति गठन हुन नसकेको उनको आरोप छ ।
उता नेविसङ्घका निवर्तमान उपाध्यक्ष उर्मिला थपलिया पार्टीले तत्काल महिलाको नेतृत्वमा तदर्थ समिति बनाएर महाधिवेशनमा जानुपर्ने बताउँछिन ।
नेविसङ्घका पूर्व अध्यक्ष एवं पार्टीका केन्द्रीय सदस्य प्रदीप पौडेल लोकतन्त्र र शिक्षाका लागि लडेको विद्यार्थी यो अवस्थामा आइपुग्नु दुःखद भएको बताउँछन । तत्काल महाधिवेशन गर्नका लागि विभिन्न क्षेत्रका व्यक्तिको सहभागितामा निर्वाचन समिति बनाएर अगाडि जानुपर्ने उनको भनाइ थियो ।

नेविसङ्घको ४८ वर्षको इतिहासमा विसं २०५९ सालमा तत्कालिन नेविसङ्घका अध्यक्ष विश्वप्रकाश शर्माले समयमा महाधिवेशन गरेर गुरुराज घिमिरेलाई नेतृत्व हस्तान्तरण गरेपछि अरु अध्यक्षहरुले समयमा महाधिवेशन गर्न सकेका छैनन ।
पार्टीका प्रवक्ता विश्वप्रकाश शर्मा नेविसङ्घभित्र तदर्थ समिति बनाउने कुरामा पाटीभित्र विभिन्न चरणमा छलफल भइरहेको बताउँदै चाँडो नै टुङ्गो लाग्ने बताउँछन । उनले भने,‘विधान र प्रक्रियाअनुसार नै नेविसङ्घको तदर्थ समिति बन्छ ।’ नेविसङ्घको समिति नहुँदा पार्टीले भर्खरै सम्पन्न गरेको पहिलो चरणको हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेसको राष्ट्रिय जागरण अभियानमा समेत समस्या परेको छ ।