२०८१ कार्तिक १८, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

काठमाडौं । सङ्घीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच एकीकरण भई नयाँ बनेको ‘समाजवादी पार्टी नेपाल’ ले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको छ । गत वैशाख २३ गते समाजवादी पार्टी नेपालको घोषणा गरिएको थियो ।

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईसहितका नेताहरुले बिहिबार निर्वाचन आयोगमा पुगी दल दर्ताका लागि निवेदन दिएका हुन । आयोगको दल दर्ता प्रक्रियाअनुसार ४५ दिनभित्र दलको टुङ्गो लाग्नेछ । प्राप्त निवेदन विस्तृत अध्ययनपछि निर्णय लिइने आयोगका प्रवक्ता शङ्करप्रसाद खरेलले जानकारी दिए । राजनीतिक दल दर्ता ऐन, २०७३ अनुसार निवेदन प्राप्त भएको ४५ दिनभित्र आयोगले निर्णय दिनुपर्ने व्यवस्था छ । निर्वाचन अयोगमा हालसम्म १३० राजनीतिक दल दर्ता भएका छन् ।

समाजवादी पार्टीको झण्डा पूर्वसमाजवादी फोरमकै हुनेछ भने चुनाव चिह्न छिट्टै बुझाउने गरी दल दर्ता गरिएको छ । समाजवादी पार्टीका २५ जना पदाधिकारीसहित ४३० जना केन्द्रीय सदस्य छन् । यसअघि दल दर्ताको निवेदन दिएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा भट्टराईले संविधान र कानूनी प्रावधानअनुरुप समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता गरिएको बताए । उनले देशमा सुशासन र दिगो विकास लागि समाजवादी पार्टी वैकल्पिक शक्तिका रुपमा स्थापित हुने दाबी गरे ।

पार्टीका अध्यक्ष उपेन्द्र यादवले सत्ता नेतृत्वकर्ता राजनीतिक दलसँग संविधानमा रहेका अधुरा विषयलाई पूर्णता दिने गरी संविधान संशोधनको लिखित सम्झौता भएर सरकारमा सहभागी भएको स्मरण गराउँदै सोको कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।