२०८१ मंसिर २२, शनिबार
  • ५ वर्ष अगाडि

काठमान्डौ:  तामाङ समुदायको ल्होसार  सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी देशै भरि  मनाइँदैछ ।

मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५६औँ वर्ष शुरु हुन्छ । आजदेखि सुँगुर वर्ष पूरा गरी मुसा वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ ।

तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ । शनिबार मनाइने पर्वका अवसरमा वाग्मती प्रदेशले शुक्रबार नै प्रदेशभर सार्वजनिक बिदा दिएको थियो ।

पर्वका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी मनाउन लागेको समितिका अध्यक्ष चन्द्रमान लामाले बताउनु भएको छ ।

विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध क्षेत्रमा सोनाम ल्होसारलाई यसपटक नेपाल भ्रमण वर्षसँग जोडेर समेत प्रचारप्रसार गर्न शुरु भइसकेको पनि उहाँले बताउनुभयो । नेपाल आउने धेरै पर्यटकको रोजाइमा बौद्ध क्षेत्र पनि पर्छ । तामाङ जातिको मौलिक वेशभूषा, सांस्कृतिक गतिविधि, खाना लगायतको प्रदर्शनसमेत गरिने ल्होसारमा धेरै पर्यटक आकर्षित गराउने काम शुरु भएको छ ।

बौद्ध क्षेत्रमा आज सांस्कृतिक झाँकीसहित बाजागाजाको ¥याली निकालिनेछ । दिउँसो महेन्द्र बौद्ध माध्यमिक विद्यालय परिसरमा मूल समारोह समितिका तर्फबाट पर्यटन वर्षसमेत सफल बनाउन आह्वान गर्दै कार्यक्रम गरिने जनाइएको छ । यसैगरी राजधानीको स्वयम्भू क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी ल्होसार मनाइने जनाइएको छ ।

यस अवसरमा नेपाल तामाङ घेदुङलगायत संस्थाले टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गर्ने जनाइएको छ । सोनाम ल्होसार महोत्सवका नाममा तामाङ खाना, वेशभूषा, कला संस्कृति लगायतको प्रदर्शन गरिने जनाइएको छ ।