२०७९ चैत्र १३, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता २ वर्ष अगाडि

 

डिल्लीराम गौतम

जब कर्तव्य च्यूत हुन थाल्छ तब धर्म, दर्शन, आचार र दायित्व कमजोर हुन थाल्छन् र अरूका व्यक्तित्व, विकास र परिचयमा हानी हुन थाल्छ तब आफ्नो अस्तिवका लागि अधिकारको खोजी हुन्छ । सबैले आफ्नो अस्तित्व, स्थान र मर्यादा चाहन्छन् । कसैले कसैको अस्तित्व, स्थान र मर्यादा विगार्नु हुँदैन ।

 

सबैको अस्तित्व, स्थान र मर्यादा सुरक्षित राखेर आफू, आफ्नो कुल, जाति, परम्परा र आफ्नो देशको उन्नति प्रगति गर्नु मानवको कर्तव्य हो । यही नै मानवीय सभ्यता पनि हो तर काम र लोभका कारण मानिस स्वार्थी बन्दै जान्छ र लोभ, मोह र क्रोधका वशमा पर्छ ।

 

लोभ, मोह र क्रोधको जालोमा परेको मानिसले आफ्नो स्वार्थका लागि अरूको सुख र सुविधा नै खोस्न थाल्छ । यतिबेला मानिसले आचार, संस्कार र धर्मलाई विर्सन्छ । यही अवस्थाको नाम कर्तव्यच्यूतको अवस्था हो ।

 

जसबाट आफ्ना सुख, सुविधा र स्वामित्व अपहरण भएका छन् उसका अगाडि अधिकारका बलिया स्वर उठ्छन् । यस्ता अधिकारमा दायित्व, आचार, दर्शन र धर्म जोडिएरै आएका हुन्छन् । अधिकारमा अगाडि दायित्व हुन्छ यसपछि आचार, दर्शन, र धर्म हुन्छन् ।