२०८१ मंसिर २२, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी सम्बन्धी विधेयकमा भूलवश केही गल्ती भए सच्याउने बताएका छन् । आइतबार युरोप भ्रमणबाट फर्केका प्रधानमन्त्री ओलीले त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग यस्तो बताएका हुन ।
उनले भने ‘गुठीको नाममा कतिपय ठाउँमा शोषण भएको अवस्था पनि छ । त्यस्ता कुरालाई सम्बोधन गर्न खोजिएको हो सबैतिर हैन । सांस्कृतिक रुपमा जोडिएका गुठीको कुरा बेग्लै हो । सरकार जनतालाई दुखी बनाउने नभई  खुसी भएको हेर्न चाहन्छ भन्दै उनले भने, ‘यही कुरालाई लिएर विरोध र आन्दोलन चर्काउन खोज्नेहरुका लागि कुनै ‘चान्स’ आउनेवाला छैन ।’
प्रधानमन्त्री ओलीले लोकसेवा विज्ञापनबारेको विवाद अदालतमा विचाराधीन भएकाले अहिले केही बोल्न नसक्ने बताए ।
प्रधानमन्त्री ओली अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को शतवार्षिकीका अवसरमा स्वीट्जरल्याण्डको जेनेभामा आयोजित विशेष कार्यक्रममा सहभागी भई आज स्वदेश फर्किएका हुन ।

उनलाई त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता सुवास नेम्वाङलगायतले स्वागत गरेका थिए ।


प्रधानमन्त्री ओलीको सम्मान सो अवसरमा नेपाली सेनाको एक टुकडीले सम्मानगारत अर्पण गरेको थियो । प्रधानमन्त्री ओलीले जेठ २७ गते यूरोप तर्फ लागेका थिए ।