होसियार ! यहाँ अब कोही सुरक्षित छैन : गगन
काठमाडौ । नेपाली कांग्रेसका सांसद गगन थापाले अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरुलाई सूचना प्रविधि विधेयकविरुद्ध उत्रिन संसदबाट आह्वान गरेका छन् । संसदको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै उनले यस्तो आह्वान गरेका हुन । उनले बहुमतको बलमा विधेयक पास भए सरकारका अरिङ्गालबाहेक कोही पनि सुरक्षित उनले दाबी गरे ।
सांसद थापाले विधेयकमा सामाजिक सञ्चालमा कसैलाई पनि होच्याउने, जिस्क्याउने, धम्याउने आशयले केही लेखेमा ५ वर्ष कैद वा १५ लासखम्म जरिवाना गर्ने व्यवस्था रहेको भन्दै प्रश्न गरे, ‘जिस्क्याउने, झुक्याउने, होच्याउनेको परिभाषा के ?’
अस्पष्ट कानुनी व्यवस्थाले अभिव्यक्ति स्वतन्त्रतामा बन्देज लगाउने भन्दै भरतमा सर्वोच्च अदालतले सूचना प्रविधि ऐनको दफा ६६, ए खारेज गरेको स्मरण गर्दै संसद थापाले नेपालमा भारतको भन्दा कठोर कानुन बनाउन लागिएको बताए ।
थापाले भने,‘सबै विधेयकलाई एक ठाउँमा राखेर हे¥यो भने के बुझिन्छ सभामुख महोदय । सरकारले के भन्न खोजेको ? शायद लेखक ब्रजेश खनालले भन्नु भए जस्तै, तँ बोल त्यति मात्र, जे म सुन्न चाहन्छु । तँ हेर त्यचि मात्र, जति म देखाउन चाहन्छु । तँ सुन त्यति मात्र, जे म सुनाउन चाहन्छु । तेरो स्वतन्त्रता घेरा मैले कोरेको शुन्य भन्दा बाहिर छैन । किनकी मलाई चिनेको छन्, म हुँ सरकार । हुँ म तेरो सरकार । ब्रजेश खनालले भने जस्तै सरकारको नियत देखिन्छ ।’
उनले अभिव्यक्तिको स्वतन्त्रताको पक्षधरहरुलाई होसियार रहन अपील गरे । उनले भने,‘चलचित्रकर्मी साथीहरु होसियार, तपाईको कथा, सम्वाद, गीतमा कसैलाई जिस्क्याउने कन्टेन्ट छ भनेर प्रनेश गौतमको ठाउँमा अब सम्भवत तपाई बस्नुपर्ला, त्यो पनि केही दिनका लागि होइन, ५ वर्ष’।
उनले थप भने, ‘गुठियारहरु होसियार, गुठी भनेको सामन्तवादी प्रवन्ध हो भन्ने सरकारी मुखलाई खबरदारी बन्दै गर्दा धम्क्याइएको आरोपमा ५ वर्ष भित्र बस्नुपर्ला । प्रधानमन्त्रीले पानी जहाज ल्याउँछु भन्दा जिस्काइयो भनेर कागजको पानी जहाज बनाएर सामाजिक सञ्जालमा राख्ने युवक होसियार ।’
थापाले भने, ‘म त भन्छु, प्रधानमन्त्रीकै पार्टी्भित्र रहेर फरक मत राख्ने साथीहरु पनि होसियार । किनकि यहाँ अब कोही सुरक्षित छैन । यो कानुन पारित भइसकेपछि कसरी प्रयोग हुनसक्छ, हामी अहिले अनुमान लगाउन सक्छौं । यहाँ केवल सरकारको अरिङ्गालहरु मात्र सुरक्षित रहन सक्छन् ।’
धेरैले यो कानुन एकजना युवाविरुद्ध प्रयोग हुँदा म त होइन नि भन्ने ठानेको भन्दै उनले भने, ‘यस्तै अवस्था रहने हो भने हाम्रो दिन जर्मन कवि मार्टिन निमोरले भने जस्तै पहिले उनीहरु समाजवादीलाई लिन आए, म बोलिनँ । किनकि म समाजवादी थिइनँ । उनीहरु ट्रेड युनियनकर्मीलाई लिन आए, म बोलिनँ । किनकि म ट्रेड युनियनकर्मी थिइनँ । उनीहरु जुजलाई लिन आए, म बोलिनँ किनकि म जुज थिइनँ । जब उनीहरु मलाई लिन आए, मेरा लागि बोल्न बाँकी कोही थिएन ।’ यस्तो अवस्था आउन लागेको भन्दै सूचना प्रविधि विधेयकविरुद्ध बोल्न, उभिन सबैलाई अपील गरे ।