२०८१ बैशाख १२, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

काठमाडौं । शनिवार बसेको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले कुनै निर्णय गर्न नसकेको नेताहरूले बताएका छन्।
जिल्ला इन्चार्जहरूको टुङ्गो लगाउने र राजनीतिक प्रतिवेदनबारे ठोस निर्णय गर्ने ठानिएको उक्त बैठकले कुनै निर्णय गर्न नसक्नुलाई कतिपयले पाटीभित्र थप मतभेदहरू बढेको हुनसक्ने रूपमा अथ्र्याएका छन्।
पार्टी नेताहरूले चाहिँ प्रधानमन्त्री एवम् एकजना अध्यक्ष केपी शर्मा ओलीको समय अभावका कारण शनिवार कुनै निर्णय हुन नसकेको बताए। सहभागी नेताहरूका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा ओलीले आफ्नो युरोप भ्रमणबारे जानकारी दिए।
त्यस्तै अर्का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदनलगायतका विषयमा जानकारी गराएका थिए। नेता झलनाथ खनालले बैठकपछि भने, “आजको बैठकमा खासै केही निर्णय भएन। तर आगामी बैठकहरू एजेन्डामा आधारित भएर बस्नुपर्छ भन्ने चाहिँ निर्णय भयो।“
उनले प्रधानमन्त्री ओली मुस्लिम समुदायको एउटा कार्यक्रममा जानै पर्ने भएकाले समय अपुग भएको जानकारी दिए।
नेकपाका महासचिव विष्णु पौडेलले पनि बैठकले दुईवटै विषयमा निर्णय नगरेको बताए। उनले भने, “पार्टीको राजनीतिक प्रतिवेदन सम्पादन अध्यक्षहरूले गरिरहनु भएको छ। त्यसलाई जतिसक्दो सकेर शीघ्र प्रकाशित गर्ने एउटा निर्णय भएको छ।“
उनका अनुसार पार्टी एकीकरणको सबै प्रक्रियाहरू सम्पन्न गर्न जिल्लास्तरीय नेतृत्त्व सहितको कार्य विभाजनबारे सम्पूर्ण गृहकार्य गरेर अर्को बैठक बस्ने पनि निर्णय भएको छ।
पालोमै नपरेको आलोपालो
प्रचण्डले केही साताअघि सरकारको नेतृत्व आलोपालो गर्ने भनि गरिएको सहमतिको प्रसङ्ग उठाएपछि त्यसले पार्टी्भित्र निकै तरङ्ग उत्पन्न गरेको थियो।

ओली निकट कतिपय नेताहरूले उक्त सहमतिले पार्टीमा औपचारिक प्रवेश नपाएको भन्दै त्यसलाई त्यति महत्त्व दिन आवश्यक ठान्दैनन्। शनिवारको बैठकमा त्यसबारे छलफल नभएको महासचिव पौडेलले बीबीसीलाई बताए।
उक्त बैठकमा मन्त्रीपरिषद् पुनर्गठन र अध्यक्षहरूको आलोपालो बारे कुराकानी नभएको पौडेलको दाबी छ। उनले भने, “बाहिर केके हल्ला हुनसक्छ। त्यो बैठकको एजेन्डा त बन्दैन नि! हामी बैठककै विषयमा केन्द्रीत भयौँ।“
उनले मन्त्रीपरिषद् पुनर्गठन वा विस्तारको विषय प्रधानमन्त्रीको स्वविवेकीय अधिकार भएको बताए।

अध्यक्षता ओलीकै
कतिपयले पार्टी एकता घोषणा गर्दाको सहमति विपरीत बैठक सञ्चालन पनि ओलीले नै मात्र गर्दै आएको बताउने गरेका छन्। बैठकको अध्यक्षता गर्ने पालो पनि नपाउँदा प्रचण्डको भूमिका उपाध्यक्ष वा ओलीको सहायकको जस्तो देखिएको टिप्पणी पनि प्रचण्ड निकट नेताहरूको पाइन्छ।
प्रचण्ड स्वयम्ले पनि आफ्नो भूमिका परिभाषित हुनुपर्ने धारणा व्यक्त गरेका थिए। तर शनिवारको बैठकमा सहभागी नेताहरूका अनुसार बैठकको अध्यक्षता ओलीले नै गरे र अध्यक्षताबारे कुनै प्रश्न पनि उठेन। बीबीसी नेपाली सेवा