२०८१ बैशाख ५, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

कुनै पनि परिवारको आधार भन्नु नै गृहस्थी हो । गृहस्थीको धुरी दाम्पत्यमा टिकेको हुन्छ । मानिसहरु परिवार, गृहस्थी र दाम्पत्यलाई एउटै भनि बुझ्दछन, तर यो बुझाइमा धेरै नै फरक छ । दाम्पत्य, पति पत्नीको निजी सम्बन्धबाट निर्देशित हुन्छ । गृहस्थी पति पत्नीको साथै संतानको जिम्मेदरीसंग जोडिएको हुन्छ । जसमा आर्थिक, मानसिक र भौतिक तीनै स्तरको सुव्यवस्था हुनु पर्दछ ।

परिवार यो प्रबन्धनको समग्र रुपमा रहन्छ । जसमा पति पत्नी र सन्तान बाहेक अन्य नाता सम्बन्ध पनि शामिल हुन्छ । यदि गृहस्थीको कुरा गर्ने हो भने यो दाम्पत्यबाट नै सुरु हुन्छ । पति पत्नीको  सम्बन्धमा समर्पण, प्रेम र कर्तव्यको भाव हुदैन भने गृहस्थी सफल हुन सक्दैन । हाम्रो प्रेम र कर्मसंगै हाम्रो संतानको संस्कार र भविष्य दुवै जोडिएको हुन्छ । त्यसैले पति पत्नी केवल आफ्नो स्वार्थका लागि मात्र जिउनु हुंदैन । सन्तान पनि आफ्नै सम्पति भएकाले यसलाई व्यर्थ जान दिनु हुंदैन । सन्तानभित्र संस्कार, दया, समझदारी र कर्तव्यको भाव भर्नु प्रत्येक दम्पतिको दायित्व हुनुपर्छ ।

यस प्रसंगमा महाभारतमा धृतराष्ट्र र गान्धारीको दाम्पत्य जीवनको अध्ययन महत्वपूर्ण रहेको छ । धृतराष्ट्र जन्मान्ध थिए । उनको विवाह सुन्दरी गान्धारीसंग भएको थियो । गान्धारीले जन्मान्ध धृतराष्ट्रलाई हेरी आफ्नो आंखामा पनि पट्टी बाधिन । पिता त अन्धा थिए नै आमाले पनि अन्धताको पट्टी बाधिन । दुवै जना आफ्नो सन्तानप्रतिको कर्तव्य पालन गर्नबाट विमुख भए । सन्तानको संस्कार र शिक्षा दुवै व्यवस्था सेवकको हातमा पुग्यो । माता पिता कसैको अधिनमा नरहे पछि सवै सन्तान दुराचारी बन्न गए ।

सन्तानको भविष्य के होला, उनिहरुको लालन पालनको व्यवस्था कसले गर्ला जस्ता विषयमा सोचेर गान्धारीले यदि आफ्नो आंखामा पट्टि नबांधेकी भए शायद महाभारतको युद्ध नै हुंदैन थियो होला । यहां धृतराष्ट्र र गान्धारीले केवल आफ्नो सुखलाई मात्र हेरे, गृहस्थी अर्थात सन्तान र अन्य कर्तव्यप्रति उनिहरुले ध्यान दिन सकेनन । यसर्थ सन्तान केवल सम्पति मात्र होइनन, तिनिहरु हाम्रा कर्तव्य समेत हुन । यदि हामीले आफ्नो सम्बन्धमा यी कुराहरुप्रति ध्यान दिन सकेनौ भने यसको दुःखद परिणाम पनि हामी आफैले भोग्नुपर्ने हुन्छ ।