२०८१ बैशाख १२, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

काठमाडौं । सत्तापक्ष कै सांसदले मुठभेडका नाममा पहिले नै यातना दिएर विप्लव समूहका सर्लाही इन्चार्ज कुमार पौडेलको हत्या गरिएको भनी आक्रोश व्यक्त गर्दै छानबिन समिति गठन गरेर सत्यतथ्य बाहिर ल्याउन सरकारसंग माग गरेका छन । संसदको राज्य व्यवस्था समितिको आइतबार बसेको बैठकमा गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक सवेन्द्र खनाललाई र्याखराख्ती पार्दै सांसदहरुले विप्लव समूहको राजनीतिलाई निस्तेज तुल्याउने ढंगले वार्ता र संवाद छाडेर सरकारले किन मुठभेड रोज्यो भनी प्रश्न गरे । उनीहरुले नियन्त्रण गर्ने नाममा यातना दिएर गोली हान्ने काम भएको भनी आक्रोश समेत व्यक्त गरे ।

विप्लव समूहलाई संवादमा ल्याउन सुझाव दिदै उनीहरुले मृतकको झोलामा भेटिएको बन्दुकले दोहोरो भिडन्तलाई पुष्टि गर्छ कि गर्दैन भनी प्रश्न गरे । राज्य असल र खराब दुवै मान्छेको अभिभावक भएकाले अपराधीलाई संविधान र कानूनको दायरामा ल्याएर कारवाही अघि बढाउन सुझाव दिँदै सांसदहरुले प्रहरीको प्रतिवेदनमा मुठभेड भए पनि जनताको प्रतिवेदनले त्यसलाई पुष्टि नगरेकाले सत्यतथ्य जानकारीका लागि छानविन समिति गठनको माग समेत गरे ।

बैठकमा सांसदहरू डिला संग्रोला, रेखा शर्मा, जनार्दन शर्मा, दीलेन्द्रप्रसाद बडू, महेश्वरराज गहतराज, यशोदाकुमारी सुवेदी, लक्ष्मी चौधरी, झपट रावल, मीना पाण्डे, तीर्था गौतम, रामसहायप्रसाद यादवलगायतले गृहमन्त्रीसमक्ष घटनाबारे सत्यतथ्य जानकारी माग गरेका हुन ।

यसैगरी समितिले नेकपा विप्लव समूहका सर्लाही इञ्चार्ज कुमार पौडेलेको दोहोरो भिडन्तमा प्रहरीको गोली लागी मृत्य भएको घटनाको तत्काल छानबिन गरी सत्यतथ्य पत्ता लगाई समितिसमक्ष सात दिनभित्र प्रतिवेदन पेश गर्न गृहमन्त्रालयलाई निर्देशन दिएको छ ।
सांसदहरुको प्रश्नमा नाजवाफ देखिएका गृहमन्त्री थापाले उक्त घटनाबारेमा आवश्यक छानबिन गर्ने वचन दिदै सुरक्षाकर्मीबाट आएको स्थलगत जानकारीअनुसार स्थानीय व्यापारी, जनप्रतिनिधि लगायतसँग चन्दा मागेर त्रसित बनाई समुदायमा सन्त्रास फैलाउदै आएका पौडेलको प्रहरीसंगको दोहोरो भिडन्तमै मृत्यु भएको दाबी गरे ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भने निज पौडेलेको गृहमन्त्रीको बचाउ गर्दै आपराधिक र ध्वङ्सात्मक गतिविधिमा संलग्न भएका घटनाको फेहरिस्त प्रस्तुत गर्दै उनका विरुद्धमा प्रहरी प्रशासनमा परेका उजुरी र मुद्दासम्बन्धी विवरण सुनाउएका थिए ।