२०७७ फाल्गुन १३, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता २ वर्ष अगाडि

चितवन । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ देशको विकास, समृद्धि र शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्न प्रतिपक्ष दल नेपाली कांग्रेससँग मिलेर जानुपर्नेमा जोड दिएका छन ।

भरतपुर महानगरपालिकाको चौथो नगरसभाको मंगलबार उद्घाटनमा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले शान्ति प्रक्रियाको बाँकी काम र विकासका मुद्दामा काङ्ग्रेससँग मिलेर अघि बढ्नुपर्ने बाध्यात्मक अवस्था रहेको बताए । उनले भने, “हामीले नचाहेपनि शान्ति प्रक्रियाका काम पूरा गर्न प्रतिपक्षसँग मिल्नैपर्छ, प्रधानमन्त्री केपी ओली, शेरबहादुरजी र मेरोबीचमा लगातार छलफल भइरहेको छ ।” अध्यक्ष दाहालले थपे, “हामी एक्लै हिड्न सक्ने अवस्थामा छैनौं, शान्ति पक्रियामा मिलेर गर्यौं, संविधान मिलेर ल्यायौं, हामी एउटै डुङ्गामा यसरी चढेका छौं, त्यहाँबाट फुत्किनु भनेको अर्को दुर्घटना हुनुबाहेक केही होइन ।”

अध्यक्ष दाहालले नेत्रविक्रम चन्द समूहको नेकपाका नेता ढिलो चाँडो आफ्नै पार्टीमा आउनेमा विश्वास व्यक्त गर्दै भने, “जसरी साथी फर्किरहनुभएको छ त्यसरीनै विप्लवजी आउनु हुन्छ ।” शान्ति सम्झौतापछि दुई वर्षसम्म चन्द आफ्नो सचिवालयको मुख्य सचिवको रुपमा रहेर काम गरेको स्मरण गर्दै उनले चन्दमा केही असन्तुष्टि भने त्यतिबेला पनि देखिएको बताए ।