२०८१ चैत्र ९, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

काठमाडौं । एक दशकअघि कक्षा एकमा भर्ना भएका विद्यार्थीमध्ये कक्षा १० सम्म आइपुग्दा झन्डै नौ लाख बालबालिका शिक्षा प्रणालीबाट हराएका छन ।
यसपालि माध्यमिक शिक्षा परीक्षा एसईईमा सहभागी विद्यार्थी कक्षा एकमा भर्ना हुँदा कुल १३ लाख ६२ हजार नौ सय २० विद्यार्थी भर्ना भएका थिए। तर एसईईसम्म आइपुग्दा विद्यार्थीको संख्या आठ लाख ८० हजारले घटेको सरकारी तथ्याङ्कले देखाउँछ ।
यो विशाल अन्तरलाई शिक्षाविद्हरूले विकराल समस्या मानेका छन्। प्रा. विद्यानाथ कोइराला भन्छन,‘शिक्षाको गुणस्तर र परीक्षा नतिजामा धेरै छलफल हुन्छ। तर यति ठूलो सङ्ख्यामा हराएका बालबालिकाबारे छलफल भए पनि यस्तो गम्भीर विषयलाई हल गर्न सकिएको छैन।’
सरकारी अधिकारीहरू भने राज्यको प्रयासका कारण बीचमै शिक्षा प्रणालीबाट हराउने विद्यार्थीहरूको संख्या कम हुँदै गएको दाबी गर्छन्। यसवर्ष कुल चार लाख ७५ हजार तीन जना विद्यार्थीले एसईई परीक्षा दिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
यो तथ्याङ्कले नेपालमा ड्रपआउट अर्थात् पढाइ नसकीकनै विद्यालयबाट बाहिरिने बालबालिकाको समस्या कति भयावह छ भन्ने प्रष्ट पारेको शिक्षाविद्हरू बताउँछन्। एसईईको परिणाम प्रकाशन भएसँगै शिक्षा प्रणालीबाट बाहिर रहेका ती विद्यार्थीका बारेमा चासो नदिइएको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्।

कोइराला भन्छन, ‘को को मान्छेले थोरै पढेर छाडे ( जस्तै कक्षा तीनसम्म पढ्ने, कक्षा सातसम्म पढेर छाड्ने) भन्ने जानकारी कसैसँग छैन।’ यस्तै पढाइ र गराइ दुइटा जोड्ने हो भने कसरी लाने र त्यसको जिम्मेवारी स्थानीय सरकार वा विद्यालय कसको हो वा कुनै तरिकाबाट लग्ने प्रष्ट नभएको उनको भनाइ छ ।
यसरी पढाइ छाड्ने विद्यार्थीको पृष्ठभूमि खोज्न आवश्यक भएको र त्यसका लागि स्थानीय सरकार र विद्यालयले प्रभावकारी भूमिका खेल्नुपर्ने बताइन्छ। कक्षा एकमा भर्ना भएकामध्ये झन्डै ३० प्रतिशत विद्यार्थीले कक्षा १० नपुग्दै पढ्न छाड्ने गरेको शिक्षा मन्त्रालयले गत वर्ष प्रकाशित गरेको एउटा अध्ययनले देखाएको छ ।
बीबीसी