नयाँ कालोपत्रे गर्ने काम सकियो : आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालनमा
आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालनमा
काठमाडौं । तीन महिनादेखि दैनिक १० घण्टा बन्द हुँदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि पूर्ववत् रूपमै सञ्चालनमा आएको छ ।
तीन हजार मिटर लामो धावनमार्गमा नयाँ कालोपत्र गर्ने काम सकिएसँगै दैनिक २१ घण्टा नै विमानस्थल सञ्चालनमा आएको हो ।
विमानहरू उड्नुअघि प्रयोग गर्ने मार्ग (ट्याक्सी वे) र विमानस्थल भित्री सडकको निर्माणको काम भने दुई महिनापछि सुरु गरिने भएको छ । झन्डै ४० वर्षपछि देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको उक्त धावनमार्गमा नयाँ कालोपत्रे गर्ने भन्दै तीन महिनाका लागि विमानस्थल १० घण्टा बन्द गरिएको थियो। त्यो अवधिमा राति १० बजेदेखि बिहान ८ बजेसम्म कुनै पनि उडान भएका थिएनन् ।
चिनियाँ निर्माण कम्पनीलाई निर्माणको जिम्मा दिइएको उक्त धावनमार्ग कालोपत्रेको काम तोकिएकै समयभित्र सकिएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले भने, ‘सोमवार बिहान ६ बजेदेखि भोलिपल्ट बिहान ३ बजेसम्म दैनिक अर्थात् २१ घण्टा विमानस्थल सञ्चालनमा ल्याउँदैछौँ।’
उनका अनुसार, तोकिएकै गुणस्तर र समयमै धावनमार्गको निर्माणको काम सकिएकाले विमान कम्पनीहरूलाई पुनस् पहिलाकै समयतालिकाबमोजिम उडान सञ्चालन गर्न भनिएको छ ।
तीन महिलाको अवधिमा विमानस्थल राति १० बजे नै बन्द गरेर रातभरि निर्माणको काम गरिएको थियो।
त्रिभुवन विमानस्थलमा दैनिक औसत चार सय पटक उडान र अवतरण हुने गर्छन्। नयाँ कालोपत्र गरिएसँगै कम्तीमा अबको १० वर्षका लागि विमानस्थलमा विमान उडान र अवतरणमा हुँदै आएका समस्या अन्त्य भएको महाप्रबन्धक क्षेत्रीको भनाइ छ ।