२०८१ बैशाख ८, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

एक प्रचलित लोक कथा अनुसार धेरै पहिले एक सन्त आफ्ना केही शिष्यका साथ एउटा गाउँमा पुगे । थोरै समयमै सन्तको ख्याति आसपासको क्षेत्रमा फैलदै गयो । सन्तको प्रवचन सुन्न र उनको दर्शन गर्न टाढा टाढाबाट मानिसहरु आउन थाले । यो देखेर पहिलेदेखिनै गाउँमा रहेका एक पन्डित रिसले चुर भए । पन्डितलाई लाग्यो कि सन्तका कारण मेरो भक्तजनको संख्यामा कमी आउन लाग्यो । अब मेरो जीविका कसरी चल्छ ?
जव पन्डितको मनमा यो भावनाले घर बनाउन थाल्यो उनले सन्तको दुष्प्रचार गर्न थाले । मानिसहरुका अगाडि उनले सन्तको नकारात्मक र बनावटी कुरा गर्न थाले । एक दिन सन्तका शिष्यहरुले यो कुरा थाहा पाएपछि उनिहरु पन्डितसँग धेरै रिसाए । शिष्यहरुले तुरुन्त आफ्ना गुरुलाई सवै कुरा विस्तार पूर्वक सुनाए । सन्तले पनि शिष्यहरुका सवै कुरा सुनेर पन्डितका बारेमा केही नबोली केवल पन्डितको कुरालाई ध्यान नदिन शिष्यहरुलाई आग्रह गरे । यदि मैले त्यस पन्डितसँग बादबिवाद गरे भने पनि उसले मलाई बदनाम गर्न छोडदैनन । त्यसैले पन्डितका कुरामा ध्यान नदिई आफ्नो कार्यमा लागि रहन भन्दै सन्तले शिष्यहरुलाई अहए ।
यति भन्दा पनि शिष्यहरुको क्रोध शान्त भएन । सन्तले भने, जब जंगलको हात्ती गाउँमा आउँछ तव उसलाई देखेर सवै कुकुरहरु एकसाथ भुक्न थाल्छ, तर हात्तीमाथि यसको कुनै असर हुँदैन । हात्ती आफ्नै मस्त चालमा हिँडि रहन्छ । कुकुर भुक्दा भुक्दा थकित भएपछि आफ्नै इलाकातिर फर्किन्छ । हामी पनि यस्ता प्रवृत्ति भएका मानिसहरुबाट अलग भएर बस्नु पर्दछ । हामीले आफ्नो कार्य इमान्दारी पूर्वक गर्नु पर्दछ र सत्यको मार्गमा अगाडि बढी रहनु पर्दछ । हाम्रो असल कामले मात्र यस्ता मानिसहरुको मुख बन्द गर्न सकिन्छ । न कि व्यर्थको बाद विवादले ।
सन्तको कुरा सुनेपछि रिस शान्त पारी आआफ्नो कार्यमा कुनै क्लेश र दुर्भावना बिना शिष्यहरु लाग्दा भए ।