२०८१ बैशाख ५, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाका सांसदहरुको अवरोधका बीच सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभा बैठक सञ्चालन गरेका छन् ।
बुधबारको बैठकको सुरुमा नै कांग्रेस र राजपाका सांसदहरुले उभिएर विरोध जनाएका थिए । दुवै दलका सांसदहरुले उभिएर विरोध जनाईरहेका बेला सभामुखले बोल्नका लागि समय नदिइकनै बैठकको कार्यसूचि अगाडि बढाए । उनले माननीय सदस्यहरुले आफ्नो कुरा हिजो नै राख्नुभयो भन्दै बोल्न समय नै दिएनन् ।
कांग्रेस र राजपाका सांसदहरुले रोष्टम घेराउ गरि संसदीय व्यवस्था कायम गर्न माग गर्दे नारावाजी गरिरहेकै समयमा सभामुख महराले सचिव गोपालनाथ योगीलाई विनियोजन विधेयक २०७६, आर्थिक विधेयक २०७६, राष्ट्र ऋण उठाउने विधेयक २०७६, ऋण तथा जमान तेईसौ विधेयक २०७६ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराउन अनुमति दिए । सचिव योगीले नाराबाजी कै बीचमा राष्ट्रियसभाबाट प्राप्त सन्देश पढेर सुनाएका थिए ।
प्रतिनिधिसभाको मङ्गलबारको बैठकमा गृहमन्त्री रामबहादुर थापाले सर्लाही घटनाका बारेमा सदनलाई जानकारी दिएका थिए । तर गृहमन्त्रीको जवाफ चित्त नबुझेको भन्दै काँग्रेस र राजपाका सांसदले नाराबाजी गरेका कारण मङ्गलबारको बैठक स्थगन भएको थियो ।