२०८१ बैशाख १२, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

काठमाडौं । सरकारले शान्तिपूर्ण राजनीतिमा अवतरण गर्ने प्रतिबद्धता जनाएमात्र नेत्रविक्रम चन्द ‘बिप्लव’ समूहसँग वार्ता गर्न सकिने दोहोर्याएको छ । बिहिबार सरकारको नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा संचारमन्त्री गोकुल बास्कोटाले सरकारले वार्ताको नाउँमा शक्ति सञ्चय गर्ने, क्षयीकरण भएको शक्ति पुनःताजगी गर्ने उद्देश्यले सो समूहसँग वार्ता गर्न नसकिने बताए ।
“सरकार वार्ता गर्न तयार छ, तर एजेण्डाविहीन वार्ता हुँदैन”, सरकारका प्रवक्ता बाँस्कोटाले भने, “दाउपेच र शक्ति सञ्चयका लागि वार्ता सम्भव छैन, ‘छक्का पञ्जा’ गर्ने उद्देश्यले वार्ता हुँदैन ।”
उनले विप्लव समूह हिंसा छाडेर, संविधान मानेर शान्तिपूर्ण प्रतिस्पर्धा गर्ने प्रतिबद्धता जनाएर आएमा एक मिनेटमा समाधान निस्कने दाबी पनि गरे । “स्पष्ट गन्तव्यसहित वार्तामा आउनुहोस्, सरकार सधैँ छलफल गर्न तयार छ”, मन्त्री वाँस्कोटाले भने ।
यसैगरी उनले काठमाडौँ उपत्यकाको सवारी व्यवस्थापनलाई सुधार गर्न सरकारले साझा यातायातमा शेयर लगानी गरेको प्रष्ट पारे । मन्त्री बाँस्कोटाले शहरी यातायातलाई व्यवस्थित बनाउँदै ठूला क्षमताका यातायात प्रणाली विकास गर्ने चासोका साथ साझा यातायातलाई नेपाल सरकारको शेयर लगानीका रुपमा रु तीन अर्ब उपलब्ध गराइएको बताए ।

राजधानीमा ठूला बस सञ्चालनमा आएसँगै निजी सवारी साधन नभएका सर्वसाधारणलाई सुलभ, सजिलो, सस्तो र आधुनिक सेवा उपभोग गर्न सहज हुने उनको भनाइ थियो ।

रुपन्देहीमा गौतमबुद्धको मूर्ति तोडफोड भएका विषयमा सम्बन्धित निकायले छानबिन गरिरहेको उल्लेख गर्दै उनले घटनाका बारेमा सत्यतथ्य पत्ता लगाउने काम भइरहेको बताए । “आशङ्कातर्फ जानुभन्दा पनि बदमासी कसले र के उद्देश्यले गरेको भन्ने थाहा पाउनु आवश्यक हुन्छ”, उनले भने, “यसलाई अहिले नै धार्मिक सहिष्णुता माथिको आक्रमण भनेर प्रश्न उठाउनु आवश्यक छैन ।”