नपत्यानुस् है, संसारको सबैभन्दा अग्लो ठाउँमा रहेको त्यो ताल होइन, झुठा हो
मोहन मैनाली
काठमाडौं । केहि दिनयता नेपालका धेरै अनलाइन र पत्रपत्रिकामा संसारको सबैभन्दा अग्लो ठाउँमा रहेको तिलिचो तालभन्दा अग्लो ठाउँमा अर्को ताल भेटियो भनी समाचार प्रकाशित भएका छन् । ती समाचारअनुसार तिलिचो ताल समुद्र सतहको औषत उचाइबाट ४,९१९ मिटर अग्लो ठाउँमा रहेको छ । अनि यो नयाँ ताल चाहिँ ५००२ मिटर अग्लो ठाउँमा भेटियो भनी प्रचार गरिएको छ ।
यसभन्दा अगाडि पनि धेरै पत्रपत्रिका र अनलाइनले तिलिचो ताललाई संसारको सबैभन्दा अग्लो ठाउँमा रहेको ताल भनी प्रचार गर्दै आएका थिए । तर सत्य कुरा के हो भने तिलिचो ताल संसारको सबैभन्दा अग्लो ठाउँमा रहेको ताल होइन । अनि नयाँ भेटिएको भनिएको ताल पनि संसारको सबैभन्दा अग्लो ठाउँमा रहेको ताल होइन । संसारका अरु ठाउँका कुरा छाडिदिउँ, नेपालमै पनि यीभन्दा अग्ला ठाउँमा धेरैवटा ताल छन् ।
हिन्दुकुश हिमालयका क्षेत्रमा लामो समयदेखि अध्ययन गरिरहेको संस्था इसिमोडले नेपालका हिमाली भेगमा रहेका जोखिमयुक्त हिमतालको सूची दिएको छ । त्यस सूचीमा रहेका १२ वटा ताल तिलिचो तालभन्दा अग्ला ठाउँमा रहेका छन् । एघारवटा ताल चाहिँ अहिले भेटिएको भनिएको तालभन्दा अग्ला ठाउँमा छन् । इसिमोडले जोखिमयुक्त हिमतालको मात्र सूची दिएकाले संसारको सबैभन्दा अग्लो ठाउँमा रहेको भनिएको तालभन्दा अग्ला ठाउँमा नेपालमै पनि यसभन्दा धेरै ताल हुनसक्छन् ।
हामीले भनेको विश्वास नलागे इसिमोडको यो वेबसाइटमा जानुहोस । http://geoportal.icimod.org/?map=nepalglakes यस नक्शामा दिइएका ३, ५, ८, १०, ११, १२, १४, १६ ,१७, १८, २० र २१ नम्बरका ताल संसारको सबैभन्दा अग्लो ठाउँमा रहेको भनी नेपाली सञ्चारमाध्यमले दावी गरेको तालभन्दा अग्ला ठाउँमा छन् । माथिको नक्शामा ५ नम्बरमा रहेको तालबाहेक अरु सबै ताल अहिले भेटिएको भनिएको “संसारको सबैभन्दा अग्लो ठाउँमा रहेको” तालभन्दा अग्ला ठाउँमा छन् ।
इसिमोडले तयार पारेको नेपालका जोखिमयुक्त हिमतालको सुचीका आधारमा हामीले तिलिचोभन्दा उच्च ठाउँमा भएका हिमतालको तालिका बनाएका छौँ ।
हो, तिलिचो र अहिले भेटिएको भनिएको तालभन्दा अग्ला ठाउँमा रहेका ताललाई छाड्ने हो भने चाहिँ यी ताल संसारको सबैभन्दा अग्लो ठाउँमा रहेका ताल हुन् ।
स्रोत : southasiacheck.org