२०८० चैत्र १५, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

धेरै मान्छेहरु अहिले पनि बितेको दिनका नराम्रा कुरालाई लिएर आजको दिनलाई पनि खराब बनाउँछन । कसैले विगतका दिनमा आफूलाई अपमान गरेको छ भने त्यसको बद्ला लिन अहिले पनि मान्छेहरु तम्सिने गर्छन । तर भगवान बुद्धको एक उपदेशमा भनिएको छ, वितेका त्यस्ता कुरालाई वर्तमानमा हावी हुन दिनु हुँदैन । जान्नुहोस् कसरी ?
चर्चित प्रसंग अनुसार भगवान बुद्ध कुनै एउटा गाउँमा प्रवचन दिंदै हुनुहन्थ्यो । उहाँले भन्नुभयो की क्रोध यस्तो आगो हो जहाँ क्रोध पाल्ने मान्छे जलेर भष्म हुन्छ र अरुलाई पनि जलाउँछ । यसैबीच प्रवचन सुनिरहेकामध्ये एउटा धेरै रिसाउने मान्छे पनि त्यहाँ प्रवचन सुनिरहेको थियो । उसलाई भगवान बुद्धको यो भनाइ मन परेन । अचानक जुरुक्क उठेर भन्यो, ‘बुद्ध तिमी पाखण्डी हौ, ठूल्ठूला कुरा गर्ने तिम्रो काम हो, तिमीले मान्छेलाई भ्रमित गर्ने काम गरिरहेका छौ, तिम्रो यो कुराले अहिले केही अर्थ लाग्दैन ।’
त्यो मान्छेले लगातार भगवान बुद्धलाई अपमानजनक शब्दले गाली गरिरहेको थियो । त्यहाँ भएका अरु छक्क परिरहेका थिएकी बुद्ध यी सबै कुरा शान्तसँग सुनिरहेका थिए, केही नबोली । क्रोधी मान्छे बुद्धलाई शान्त देखेर झन क्रोधीत भयो । उ बुद्धको छेउमा गयो र मुखमा थुकेर हिड्यो ।
घर पुगेपछि त्यो मान्छेको मन बिस्तारै शान्त भयो र आफूले अघि गरेका कामप्रति पछुताउन थाल्यो । उ क्षमा माग्न बुद्ध भएको ठाउँमा गयो तर त्यहाँबाट बुद्ध नजिकैको अर्को गाउँमा पुगिसकेका थिए । उ बुद्धलाई खोज्दै त्यही गाउँमा पुग्यो । बुद्धलाई देख्ने बित्तिकै उ बुद्धको चरणमा पर्यो र क्षमा माग्न थाल्यो ।
बुद्धले भने तिमी को हौ र किन क्षमा मागिरहेका छौ ? त्यो मान्छले भन्यो, हजुरले बिर्सनु भयो ? मैले हिजो तपाईलाई नराम्रो व्यवहार गरेको थिएँ । तपाईको अपमान गरेको थिएँ ।
बुद्धले भने बितेको हिजोलाई मैले त्यही छाडेर आएँ तिमी अहिले पनि त्यही रोकिएका छौ । तिमीलाई आफ्नो गल्तीप्रति पश्चाताप छ, तिमी पछुताएका पनि छौ । अब तिमी निष्पाप भएका छौ । नराम्रो कुराको याद गर्ने बानीले हाम्रो आजको समयलाई बर्बाद पार्छ । यस्तो बानीका कारण हाम्रो भविष्य बिग्रन पनि सक्छ । त्यसैले बितेका हिजोका नराम्रा कुराहरुलाई बिर्सिएर अघि बढ्नुपर्छ ।