२०८१ बैशाख ८, शनिबार
  • ४ वर्ष अगाडि

धरान । नेपाली कांग्रेसले धरानको मेयरमा तिलक राईलाई उठाउने भएको छ । यसअघि उम्मेवारी घोषणा गरेका सुजेन्द्र तामाङले तिलक राईलाई छाडिदिने घोषणा गरेपछि उनी उम्मेदवार बन्ने बाटो खुलेको हो ।

कांग्रेस सुनसरीका कोषाध्यक्षसमेत रहेका तामाङले सर्वसम्मत होस् भनेर तिलक राईलाई समर्थन गरेको जनाएको छ | सुनसरी जिल्ला कमिटीका तर्फबाट तिलक राईलाई मेयरको उम्मेद्वार घोषणा गरिसके पनि पार्टी केन्द्रबाट यसले औपचारिकता पाइसकेको छैन । उपमहानगर, प्रदेशसभा र प्रतिनिधिसभाका उम्मेदवारहरुको टुंगो कांग्रेसको केन्द्रीय कार्यसमितिले लगाउने छ ।

०७४ सालको चुनावमा एमालेका तारा सुब्बाले २० हजार ९७५ मत ल्याएर जितेका थिए । फोक्सोको निमोनियाका कारण ग्राण्डी अस्पतालमा सुब्बाको निधन भएपछि गत वर्षदेखि धरानमा मेयर पद खाली छ ।

तारा सुब्बासँग ०७४ को चुनावमा कांग्रेसका तर्फबाट तिलक राईले नै प्रतिस्पर्धा गरेका थिए । तिलकले १६ हजार १०२ मत प्राप्त गरेका थिए । यहाँ एमाले र कांग्रेसवीचको मतान्तर ४ हजार ८७३ थियो ।

एमालेसँग फराकिलो मतान्तरले हारेका उनै तिलक राई अहिले फेरि मेयरमा प्रतिस्पर्धा गर्दैछन् । राईलाई अर्को चुनौती के छ भने ०७४ सालमा उनले एमाले एक्लैसँग सामना गरेका थिए भने यसपालि माओवादी र एमाले मिलेको अवस्था छ ।

धरानको मेयरमा कांग्रेसले उम्मेवारको टुंगो लगाए पनि नेकपाका तर्फबाट भने अहिलेसम्म उम्मेदवार घोषणा हुन सकेको छैन । नेकपाबाट प्रकाश राईको नाम चर्चामा छ ।