२०८० चैत्र १६, शुक्रबार
  • ४ वर्ष अगाडि

काठमाडौं : जापानले दोस्रो चरणअन्तर्गत कृषि क्षेत्रमा नेपाली कामदार लैजाने भएको छ । कृषिका विभिन्न क्षेत्रमा कामदार लैजानका लागि जापानले अध्ययन गर्ने भएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको भेटका क्रममा जापानको कृषि, वन तथा मत्स्यपालनसम्बन्धी  मन्त्रालयका उपमहानिर्देशक ताकामी नाकाडाले नेपालबाट कृषि, मत्स्य तथा खाद्य क्षेत्रमा नेपाली कामदारहरु लैजान इच्छुक रहेको बताए ।

भेटका क्रममा नेपाल र जापानबीच भएको समझदारीअनुसार विभिन्न १४ क्षेत्रमध्ये कृषि क्षेत्रमा जापानलाई चाहिने कामदारको सम्बन्धमा भाषा र सीप परीक्षा छिट्टै सञ्चालन गर्ने विषयमा समेत छलफल भयो ।

जापानका राजदूत मासामिची साइगोले नेपालबाट जापानमा कृषि कामदार लैजान टोलीले अध्ययन अनुसन्धान समेत गर्ने बताए । नेपाल र जापानबीच भएको श्रम समझदारीअनुसार क्रमिक रूपमा कामदारको सीप परीक्षण गरी थप कामदार लैजाने उनले प्रतिबद्वता व्यक्र गरे । जापानले नेपाली कामदारलाई आवश्यक सीपमूलक तालिम प्रदान गर्न जाइकामार्फत सहकार्य गर्न सकिने जापानी प्रतिनिधिमण्डलले उल्लेख गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले नेपाल र जापानबीचको समझदारी कार्यान्वयनको प्रकृयाले अझ तीव्र एवं व्यवस्थित रूपले अगाडि बढ्ने अपेक्षा राखे । नेपालमा कृषिमा आबद्ध जनशक्ति धेरै रहेको उल्लेख गर्दै मन्त्री विष्टले नेपालबाट कृषि सम्बन्धी सीपयुक्त जनशक्तिको आपूर्तिबाट जापान थप लाभान्वित हुन सक्ने बताए । उक्त प्रक्रियाका लागि नेपालले आवश्यक सहयोग गर्न तयार रहेको उनको भनाइ थियो । नर्सिङ केयर गिभर लिने प्रकृयालाई थप  चुस्त एवं गुणस्तरीय र विश्वसनीय बनाउनसमेत उनले अनुरोध गरे ।

जापानले नेपालसहित नौ मुलुकबाट कामदार लैजान प्रक्रिया सुरु गरेको छ । पहिलो चरणमा नर्सिङ केयर गिभरका लागि हालै भाषा परीक्षा सञ्चालन भएको छ । आउँदो डिसेम्बरभित्र भाषा र सीप परीक्षण पूरा गरेर नेपाली कामदार  छनोट गर्ने जापानको तयारी छ । जापान भाषा परीक्षाका लागि विद्युतीय लक्की ड्रमार्फत एक हजार परीक्षार्थी छानिएका थिए । ती मध्ये भाषा परीक्षामा उत्कृष्ट हुने मात्रै जापान जान पाउने छन आजको अन्नपुर्ण पोस्टमा ख़बर छ ।

छलफलका क्रममा नेपाल  र जापानबीचको श्रम समझदारीलाई अझ प्रभावकारी ढंगले अघि बढाउनुका साथै नीजि क्षेत्रबीच समेत सम्बन्ध स्थापित गर्ने सम्भावनाको बारेमा छलफल भएको थियो ।