चीनमा पर्यटन प्रवद्र्धन गरी फर्किए पोखराका पर्यटन व्यवसायी महिला
पोखरा । पोखराको पर्यटन क्षेत्रमा सक्रिय महिलाहरु ११ दिने चीनको भ्रमण गरेर नेपाल फर्किएका छन् । महिला पर्यटन व्यवसायी मञ्च (वोटेफ) को आयोजनामा नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ पर्यटन व्यसायीको टोली छिमेकी मुलुक चीन पुगेको थियो ।
चीन भ्रमणको अनुभव आदान प्रदान कार्यक्रममा महिला पर्यटन व्यवसायी मञ्च (वोटेफ)का अध्यक्ष जमुना पराजुलीले चीनले छोटो समयमै आर्थिक छलाङ मार्न त्यहाँको सरकारले आर्थिक क्षेत्रको पहिचान गरी खेलेको भूमिका सराहनीय रहेको बताइन् । उनले चीनको विकासको मोडललाई अपनाएर विकास गर्ने सके नेपाल छिट्टै समृद्ध हुने बताइन् ।
पराजुलीले चीनका प्रमुख शहरहरुमै नेपालबारे थाहा नहुनु दुःखद भएको बताइन् । “हामी मुख्य तीन शहर बेइजिङ, गोन्जाओ र साङघाई शहरका प्रमुख गन्तव्यमा पुग्यौँ, कतिपय ठाउँमा नेपाल भनेको कहाँ छ भन्नेसमेत थाहा रहेनछ, अधिकाशं पसलमा हामीलाई भारतीय नागरिक बनाइयो”, पराजुलली भनिन्, “नेपाल भ्रमण वर्ष २०२० का पर्चाहरु बाड्यौँ, सगरमाथा र गौतमबुद्धको देश र चीनसँगै सिमाना जोडिएको भन्दै परिचय दिँदै हिड्यौँ ।”
स्थानीय स्रोत र साधनको अधिकतम उपयोग गरेर आर्थिक परनिर्भरताबाट टाढा रहेको चीनका धेरै पक्षहरु सिको गर्नलायक रहेको सहभागी उमा काफ्लेले बताइन् । प्राकृतिकभन्दा पनि मानवनिर्मित धेरै कुराबाट विश्वको ध्यान खिचिरहेको चीन नेपालीका लागि एक महत्वपूर्ण अध्ययन अवलोकनको गन्तव्य रहेको भ्रमणमा सहभागी माया सुवेदीको अनुभव थियो ।
बेइजिङको टप भ्यूज होलिडेज प्रा.लिसँगको समन्वयमा मञ्चका १८ पर्यटन व्यवसायी महिलाको टोलीले बेइजिङ, साङ्घाई, गोन्जाओ शहरका मुख्यमुख्य ठाउँहरुको अध्ययन अवलोकन गरेको कार्यक्रम संयोजक सुशीला सिग्देलले जानकारी दिइन् । टोली असारको तीन गते गएर १४ गते फर्किएको हो ।