२०८१ बैशाख ५, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

 

 

 

 

 

 

रचना : राजेश अधिकारी

 

माईतीको आँगन छोडेर
पराईसँग नाता जोडेर
म आएकी छु पराईघर
बालापनका खुशीहरु न्यौछावर गर्दै
माईतीघरको मझेरी र सङ्गीनीहरुको सामिप्य त्याग्दै
नौलो र अनजान दलिनमा जीवन बिताउन
परचकृघरको शुन्यता भर्न ,नवजीवनको साँघु तर्न

तिम्रो वंशबिस्तारको बीज रोपेकी छु मेरो गर्भमा
तिम्रो प्रेमको भ्रूण लुकाएकी छु मेरो बदनमा
बीज अंकुरण हुँदै छ,कोपिला मुस्काउँदै छ र फूल फक्रदै छ
अर्ध लज्जा र अर्ध खुशी बोकेर
कल्पनाको सगरमा उड्दै छु
अर्ध पीडा र अर्ध आनन्दको प्रथम सुखानुभूति बोकेर
यथार्तताको सागरमा पोडिदै छु
एकान्तमा घरी मुस्काउँछु घरी अश्रू बहाउँछु
प्रथम अनुभवात्मक आनन्द बोकेर
अपूर्व मिठो दर्द महशुस गरेर

अनायशै मेरा ओठहरुबाट मुस्कानका फोहरा फुट्छन्
मुटु धक् धक् हुँदै उफ्रन्छ
स्वार्गानन्दीय आनन्दको कल्पनाको आभाशले
नवआगन्तुक पाहुनाको आगमनको प्रतिक्ष्याले
औंला भाँच्छु, दिन गन्छु
मेरो पेट अनायसै चलायमान हुन्छ
मेरो आव्हान मेरो पाहुनाले बुझे झैँ लाग्छ
तर आगमन हुन महिनौं बाँकि छ
प्रतिक्ष्या असहनीय लाग्छ
एक पल पनि बर्षों झैँ लामो लाग्छ
घरी घरी त पेटबाट कोपिलालाई चुँडेर
छातीमा टाँस्न मन लाग्छ
जताततै चुम्बन गर्न मन अधिर हुन्छ
स्तनपानको त्रिप्तीले रुन्चेहाँसोमा सुँडो पसारेको हेर्ने भोक लाग्छ

म कल्पनामै झस्किन्छु
बिपनामै ब्युंझिन्छु
स्वप्नमानै तर्सिन्छु
भयमिश्रित तरङ्गहरुले मलाई अत्याउँछ
कोपिलाको लिङ्गको बिषयलाई लिएर
कोही बंशबिस्तारक चाहन्छन्
कोही गृहलक्ष्मी पुकार्छन्
मुस्लीरूपी अपरिष्कृत सोचहरुको ओख्ली म
मिश्रित इच्छावाहक आफन्तहरुको जस र अपजसको अचानो म
मेरा लागि दुवै चक्षु समान
तर सबैका लागि यो सिद्दान्त छ असमान
हे ईश्वर !
लिंगभेदको अपजस तिमी लेऊ
मेरो कोपिलालाई समृद्दिको बरदान देऊ
तिम्रो रचनालाई फक्रन देऊ
फुल्न देऊ
कोपिलामै मुर्झाएर झर्न नदेऊ ।

इति