२०८१ चैत्र ५, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

काठमाडौं । चीनमा ४० भन्दा बढी नेपाली चेली अलपत्र परेका छन । नेपाली म्यानपावर कम्पनीको बदमासीका कारण उनीहरु अलपत्र परेका हुन । एउटा गार्मेन्ट फ्याक्ट्रीमा काम गर्न भनी पुगेका उनीहरुसँग कामका लागि आवश्यक पर्ने राहदानी नभएको र आवश्यक सीप पनि नभएपछि उनीहरुको बिचल्ली भएको हो ।
चिनियाँ अन्तर्राष्ट्रिय रेडियो सीआरआइ नेपाली सेवा बेइजिङमा कार्यरत पत्रकार चेतनाथ आचार्यका अनुसार, चीनको ल्याओनिङ प्रान्तको एउटा गार्मेन्ट फ्याक्ट्रीमा काम गर्न भनि उनीहरु त्यहाँ पुगेका हुन । यो स्थान उत्तर कोरियाको सीमा नजिकै पर्छ । तर उनीहरुसँग नत ‘वर्किङ भिसा’ छ न त काम सम्बन्धि कुनै अनुभव ।
सामान्यतयाः चीनमा विदेशी नागरिकले काम गर्न पाउँदैनन् । त्यहाँ काम पाउनलाई बैज्ञानिक नै हुनु पर्छ वा विशेष काममा दक्षता हासिल गरेको हुनुपर्छ । चीन सरकारको स्वीकृतीपछि मात्रै काम गर्न पाइन्छ ।
कसरी गर्यो मेनपावरले बदमासी ?
श्रम ऐनमा कुनै पनि देशमा श्रमिक आवश्यक भयो भने त्यही देशको दूतावासले स्थलगत भ्रमण गरेर ठीक छ भने सिफारिश गर्न सक्ने प्रावधान छ ।
चीनको कम्पनीले गत अक्टोबरमा बेइजिङस्थित नेपाली दूतावासमा निवेदन दियो। दूतावासका कर्मचारी फेब्रुअरीतिर स्थलगत भ्रमणमा गए । त्यहाँ देख्दा ठिकै देखियो। तर कानूनी जटिलताको कुरा त्यहाँ खुलेन।

चिनियाँ कम्पनीले तीन सय जनालाई काम दिने भन्दै राम्रा शर्त राखेको थियो। सबै खर्च बेहोर्ने हरेक दुई वर्षमा देशमा जाने हवाई खर्च बेहोर्ने पैसा राम्रो दिन्छ भनेपछि दूतावासले सिफारिस गरिदियो। यसैको आधारमा म्यानपावर कम्पनीले श्रम विभागबाट त्यो स्वीकृति लिएको देखिन्छ ।
उसले दक्ष जनशक्ति पठाएको भए त्यहाँ समस्या हुँदैनथ्यो । तर उसले सर्वसाधारण मान्छेहरूबाट रकम असुली त्यहाँ पठायो । यति मात्र होइन उसले सिलाइ होइन प्याकिङको काम भनेर झुक्याएर ती नेपाली महिलालाई त्यहाँ पठाएको खुलेको छ ।
उनीहरुसँग मासिक ३५ हजार नेपाली रुपैयाँ दिने, खान बस्न दिने, हप्ताको छ दिन मात्रै काम र दिनको आठ घण्टाभन्दा बढी काम गर्नु नपर्ने जस्ता सम्झौता गरिएको थियो । तर त्यहाँ पुगेपछि महिनाको जम्मा पाँच हजार रुपैयाँ दिइयो।
अहिले अलपत्र महिलाहरुलाई गार्मेन्ट फ्याक्ट्रीको कम्पाउण्डभित्र बस्ने ठाउँ दिइएको छ । एउटा कोठामा चारवटा खाट छ जसमा उनीहरु आठजना बसेका छन । उनीहरु सबैको एउटै स्वर छ, ‘हामी यहाँ काम गर्न सक्दैनौं, घर फर्कन चाहन्छौं ।’
(बीबीसी नेपालीको सहयोगमा)